मास्कमा कालोबजारी गरेको भेटिए ११३७ मा फोन गर्नुस

मास्कमा कालोबजारी गरेको भेटिए ११३७ मा फोन गर्नुस

२३ फागुन, काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले कोरोना भाइरसको सन्त्रास बढेको समयमा माक्समा कालोबजारी भएको पाइए पैसा नलाग्ने फोन नम्बर ११३७ मा खबर गर्न आग्रह गरेको छ ।

बजारमा मास्क नपाइने र पाइए पनि तोकिएको मुल्यभन्दा निकै महँगो मुल्य पर्ने गुनासो बढेपछि विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले उक्त पैसा नलाग्ने नम्बरमा फोन गर्न आग्रह गरेका हुन् ।

उनले कोरोना भाइरसको त्रास भइरहेका बेला मौकाको फाइदा छोप्दै ठगी गर्नेहरुलाई तीन लाख रुपैयाँसम्म जरिबाना तिराउने र मुद्दा चलाउने जानकारी दिए । माक्स लुकाएर मुल्य बढाउने केही ब्यापारीलाई कारवाही समेत गरिएको उनले जनाए ।

मास्क लुकाउने काठमाडौंको क्षेत्रपाटीमा रहेको नेपाल केयर सर्जिकल सप्लायर्सलाई दुई लाख रुपैयाँ जरिबाना तिराएको विभागले बताएको छ ।

बिलबिना नै महँगोमा मास्क बेच्ने त्रिपुरेश्वरको स्वस्तिक सर्जिकल सप्लायर्सलाई २० हजार र सचिन ट्रेड कन्सर्नलाई १० हजार रुपैयाँ तथा त्रिपुरेश्वरको खनाल सर्जरी सप्लायर्स, अर्चना सर्जिकल र फिस्टेल सर्जिकललाई पाँच(पाँच हजारका दरले जरिबाना तिराएको विभागका महानिर्देशक सुवेदीले जानकारी दिएका छन् ।

अनुगमनक क्रममा त्यसरी कालोवजारी गर्ने अन्य ८ ब्यापारीलाई पनि सचेत गराइएको जानकारी दिए ।

विश्वव्यापी रुपमा फैलिकएको कोरोना भाइरसको संक्रमणको त्रास बढेसँगै नेपाली बजारमा माक्सको कालोबजारी हुन थालेको छ । केही दिन यता बजारमा मास्क पाउन छाडेको तथा भएका माक्स पनि चर्को मुल्यमा बेच्ने गरेको जनगुनासो सँगै सरकारले निगरानी बढाएको छ ।

Loading
TOP