लाङटाङ खोला जलविद्युत्लाई लगानी जुट्यो, सनराइज बैंकको अगुवाइमा तीन बैंकले लगानी गर्ने

लाङटाङ खोला जलविद्युत्लाई लगानी जुट्यो, सनराइज बैंकको अगुवाइमा तीन बैंकले लगानी गर्ने

काठमाडौं, असोज १४ । रसुवास्थित स्याफ्रुबेसीमा रहेको लाङटाङ खोला जलविद्युत् आयोजनाको फाइनान्सियल क्लोजर सम्पन्न भएको छ । आयोजनामा सनराइज बैंकको अगुवाइमा सिद्धार्थ बैंक तथा एनसीसी बैंकको सहभागितामा बनेको कन्सोर्टियमले करिब तीन अर्ब रुपैयाँ लगानी गर्ने सम्झौता भएको छ ।

आयोजना प्रवर्द्धक कम्पनी मल्टी इनर्जी डेभलपमेन्ट प्रालि र बैंकबीच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको छ । यस कम्पनीका अध्यक्ष कृष्णप्रसाद आचार्य हुन् । उनी स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपालका अध्यक्ष पनि हुन् ।

२० मेगावाट क्षमताको यो आयोजनाको लागत तीन अर्ब ६४ करोड रुपैयाँ अनुमान गरिएको छ । कम्पनीले यो आयोजनाको निमार्णकार्य ठेकेदार परिचालन भएको ३० महिनाभित्र सम्पन्न गरी विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य लिएको छ । आयोजनाको निर्माण पूरा भई उत्पादन हुने विद्युत् चिलिमे हब सबस्टेसनमा लगेर जोडिनेछ । यो आयोजना लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्छ ।

कम्पनीका अनुसार आयोजनाबाट वार्षिक १३३.३० गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ । सुक्खायामको उत्पादन ३४.७ गिगावाट घण्टा र बर्खायामको उत्पादन ९८.६ गिगावाट घण्टा हुनेछ ।

पहिले यो आयोजना इपीसीएफ (इन्जिनियरिङ, प्रोक्योरमेन्ट, कन्स्ट्रक्सन एन्ड फाइनान्स) मोडलमा निर्माण गर्ने गरी चिनियाँ कम्पनीसँग सम्झौता भएको थियो । तर, कोरोना महामारीका कारण चिनियाँ कम्पनीका प्राविधिक तथा कामदार नेपाल आउन नसकेपछि परियोजनाको पुनरवलोकनपश्चात् हाल बीओक्यू (बिल अफ क्वान्टिटी) मोडलमा परियोजनाको निर्माण नेपाली ठेकेदारमार्फत सम्पन्न गर्ने कम्पनीले लक्ष्य लिएको छ ।

Loading
TOP