एपीएफ र त्रिभुवन आर्मी सेमिफाइनलमा, एनभीए लिग खेल्ने सात टिमको टुङ्गो लाग्यो

एपीएफ र त्रिभुवन आर्मी सेमिफाइनलमा, एनभीए लिग खेल्ने सात टिमको टुङ्गो लाग्यो

काठमाडौं, असोज १४ । प्रतिस्पर्धात्मक खेलमा सशस्त्र प्रहरी बल (एपीएफ) क्लबको पुरुष टोलीले आज गण्डकी प्रदेशलाई ३–१ को सेटमा हराउँदै राष्ट्रिय महिला तथा पुरुष एनभीए क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिताको अन्तिम चारमा स्थान बनाएको छ । यससँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।

काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा जारी प्रतियोगितामा एपीएफले गण्डकीलाई २५–१९, २४–२६, २७–२५, २५–२० को स्कोरमा हराएको हो । म्याराथन शैलीमा गरिएको प्रतियोगितामा एपीएफले अब फाइनल प्रवेशका लागि त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

त्रिभुवन आर्मी क्लबले गलकोट स्पोर्ट्स क्लबलाई ३–१ को सेटमा हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । राष्ट्रिय भलिबल टोलीका खेलाडीको बाहुल्यता रहेको आर्मीले गलकोटलाई २५–१५, १९–२५, २५–१५, २५–१३ को स्कोरमा हराएको हो ।

आजै चाडोगरी भएको खेलमा साविक विजेता हेल्प नेपाल र नेपाल पुलिस क्लबले आ–आफ्नो खेल जित्दै सेमिफाइनलमा स्थान प्रवेश गरेका थिए । हेल्प नेपालले नयाँ बजार युवा क्लबलाई ३–० को सेटमा हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो । पुलिस क्लबले ढोरपाटनलाई पनि ३–० कै सेटमा हराएर अन्तिम चारमा स्थान बनाएको हो ।

यससँगै एपीएफ, त्रिभुवन आर्मी, हेल्प नेपाल, नेपाल पुलिस, गण्डकी प्रदेश, गलकोट स्पोर्टस र ढोरपाटन स्पोर्टस क्लबले एनभीए लिगमा स्थान बनाएका छन् । एनभीए लिगमा सात टोलीले प्रतिस्पर्धा गर्नेछन् । क्वार्टरफाइनलमा स्थान बनाउन सफल आठ टोलीमध्ये नयाँ बजार युवा क्लब भने लिगमा छनोट हुन सकेनन् । यस क्लब च्याम्पियनसिपमा पुरुषतर्फ १४ टोली टोलीले प्रतिस्पर्धा गरेका थिए । महिलातर्फ ६ टोलीको सहभागिता रहेको छ ।

Loading
TOP