डडेल्धुरा कांग्रेसको रिले अनशनमा पौडेलको ऐक्यवद्धता

डडेल्धुरा कांग्रेसको रिले अनशनमा पौडेलको ऐक्यवद्धता

काठमाडौं, असोज १७ । नेपाली कांग्रेस डडेल्धुरा सभापति कर्णबहादुर मल्ललगायतले पार्टी कार्यालयमा गरेको रिले अनशनमा वरिष्ठ नेता रामचन्द्र पौडेलले ऐक्यवद्धता जनाएका छन्। एक सन्देश जारी गर्दै पौडेलले डडेल्धुरामा क्रियाशील सदस्यता विवाद नटुंग्याइ गरिएको वडा अधिवेशनको विरोध पनि गरेका छन्।

गत भदौ २५ मा सभापति शेरबहादुर देउवा पक्षले एकलौटी ढंगले डडेल्धुरामा वडा अधिवेशन गरेका थिए। त्यसविरूद्ध जिल्ला सभापति मल्ललगायत वरिष्ठ नेता पौडेल पक्षले विरोध गरिरहेको छ। पौडेलले डडेल्धुरामा फेरि वडा अधिवेशन हुनुपर्ने बताइरहेका छन्। उनले डडेल्धुरा कांग्रेसले जारी राखेको अभियानमा आफ्नो साथ रहेको पनि बताएका छन्।

‘बलिया मिच्दै जाने र निर्धाले कहिल्यै न्याय नपाउनु लोकतन्त्रमा लाजमर्दो विषय हो,’ पौडेलले जिल्ला सभापति मल्ललाई पठाएको ऐक्यवद्धता पत्रमा उल्लेख गरेका छन्, ‘त्यसैले डडेल्धुरामा जुन ढंगबाट स्थानीय अधिवेशन भए त्यसका विरूद्धमा हाम्रो लडाइँ निरन्तर राख्न जरूरी छ।’

उनले अन्यायमा परेका नेता तथा कार्यकर्तालाई न्याय दिलाउने पनि बताएका छन्। डडेल्धुरा कांग्रेसले पार्टी कार्यालयमा विगत एक सातादेखि रिले अनसन जारी राखेका छन्। क्रियाशील सदस्यता विवाद मिलाउनुपर्ने, फेरि वडा अधिवेशन गराउनुपर्नेजस्ता माग उनीहरूको छ।

तर सभापति देउवा पक्षले भने डडेल्धुरामा फेरि वडा अधिवेशन गर्न सम्भव नभएको प्रतिक्रिया दिने गरेका छन्। चुनावमा बागी, प्रस्तावक र समर्थक रहेकालाई क्रियाशील नदिइएको देउवा पक्षको भनाइ छ। तर पौडेल पक्षले भने तलबाट पठाइएका नाम हटाएर करिब तीन सय जनाको नाम सभापति देउवा पक्षले थप्दा विवाद भएको बताएको छ।

Loading
TOP