किन हिमाली जिल्लामा पनि फैलदैछन् लामखुट्टे !

किन हिमाली जिल्लामा पनि फैलदैछन् लामखुट्टे !

काठमाडौं, असोज १७ । पछिल्ला केही वर्षयता नेपालका पहाडी जिल्लाहरुमा किटजन्य रोगको संक्रमण बढेको छ । विशेषगरी लामखुट्टेको टोकाइबाट सर्ने रोगहरुको संक्रमण पहाडी जिल्लामा धेरै भेटिएको सरकारी तथ्यांक छ । लामखुट्टे पहाडतिर भेटिनुको विभिन्न वातावरणीय कारणहरु रहेको विज्ञहरुको ठहर छ ।

पहाडी जिल्लाहरुमा यस्तो छ लामखुट्टेजन्य रोगको संक्रमणको अवस्था

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार गतवर्ष ०७७–७८ मा गण्डकी प्रदेशमा सबैभन्दा बढी १४५ जनामा डेंगुको संक्रमण देखिएको थियो । त्यसपछि सुदूरपश्चिम १२५ जना, वाग्मतीमा ७०, लुम्बिनीमा ७३, कर्णालीमा ४८, प्रदेश १ मा २८ र सबैभन्दा कम प्रदेश २ मा ४ जना गरी जम्मा ४८९ जनामा डेंगु देखिएको थियो ।

चालु आर्थिक वर्षको पछिल्ला तीन महिनामा जम्मा १४९ वटा डेंगुको ‘केस’ भेटिएको छ ।  जसमध्ये सबैभन्दा धेरै संखुवासभामा ४७ जना बिरामी भेटिएका छन् भने म्याग्दीमा ११ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । महाशाखाको तथ्यांकमा म्याग्दी, पर्वत बाग्लुङ, भोजपुरलगायतका पहाडी जिल्लामा डेंगुका बिरामी बढेको देखिन्छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदले सन् २०१२ मा गरेको डेंगुको अध्ययनमा १८ सय मिटर माथिसम्म लामखुट्टे पुग्ने अनुसन्धानले देखाएको थियो । नेपालमा एडिज एजिप्टाइले १८ सय मिटर तथा एडिज अल्बोपिक्टसले २१ सय मिटरको उचाइसम्म पुगेर प्रजनन् गर्न सक्ने देखिएको छ ।

हिमाली जिल्लामा पनि लामखुट्टे…

नेपालमा तराईका जिल्लामा बढी लामखुट्टेको टोकाइबाट हुने बिरामी भेटिने गरेको भए पनि अहिले पहाडमा पनि लामखुट्टे बढेको विज्ञहरु बताउँछन् । सवारीका साधन र मानिसहरुको आवतजावत लामखुट्टेका लागि एक ठाउँबाट अर्को ठाउँमा सर्ने माध्यम भएको विज्ञहरु बताउँछन् । त्यस्तै ग्लोबल वार्मिङ लामखुट्टेका माथि माथि जाने प्रमुख कारण भएको वातावरणविदहरुको भनाइ छ ।

सन् १८८० यता पृथ्वीको तापक्रम बढेको र नेपालको हकमा पनि त्यो देखिएको काठमाडौं विश्वविद्यालयका वातावरण विभाग प्रमुख डा. रिजनभक्त कायस्थ बताउँछन् । पृथ्वीको बढेको यो तापक्रम नै लामखुट्टेका लागि हिमाली जिल्लाहरुमा समेत बाँच्न उपयुक्त वातावरण रहेको डा. कायस्थाको दाबी छ ।

सामान्यतया १५ देखि ३५ डिग्रीको तापक्रममा लामखुट्टेको विकास हुन्छ । वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार डेंगु भाइरस फैलाउने लामखुट्टेका लागि भने २२ देखि ३४ डिग्रीसम्मको तापक्रम निकै अनुकूल मानिन्छ । अहिले वर्षा भइरहेको र लामखुट्टेको वृद्धि विकासका लागि उपयुक्त तापक्रम र ह्युमिडिटी भएकाले डेंगीको प्रकोप बढेको उनी बताउँछन् । तर लामखुट्टे फैलिनुमा १०० दिनको सिद्धान्त लागु हुने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. बाबुराम मरासिनी बताउँछन् ।

कुनै पनि पहाडी वा हिमाली जिल्लाको तापक्रम मात्रै लगातार १०० दिनसम्म १५ डिग्री सेन्टिगे्रटभन्दा बढी भएमा त्यहाँ लामखुट्टेका लागि प्रजननमैत्री वातावरण बन्दछ । प्रजनन अगाडिएडिस जातको पोथी लामखुट्टे एकदमै सक्रिय हुन्छ र यसले एकैपटक ३ देखि ४ जना व्यक्ति र जनावरको समेत रगत चुस्दछ । “यसरी प्रजनन् अगाडि लामुखट्टेले धेरैमा संक्रमण सार्न सक्दछ,” डा. मरासिनी भन्छन् ।

सन् २०१६ देखि २०१८ सम्म इपिडिममियोलोजी तथा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य संगठनसँग मिलेर गरेको एक अध्ययनले सन् २०१७ मा सबैभन्दा धेरै २६० जना कालाजारका बिरामी भएको र ओखलढुंगाको मानेभञ्ज्याङमा समेत जापानीज इन्सेप्लाइटिसका बिरामी भेटिएको पुष्टि गरेको थियो ।

सोही अध्ययनबाट सन् २०१४ त्यो समययता पहाडी जिल्लाहरुमा जापानिज इन्सेप्लाइटिस, कालाजार, मलेरिया र डेंगुको संक्रमण बढ्दै गएको पुष्टि डा. मरासिनी बताउँछन् । सन् १०१४ अगाडि काठमाडौंमा मात्रै जापानिज इन्सेप्लाइटिस विरुद्धको खोप दिइँदै आएकोमा सन् २०१४ यता देशभर यो खोप वितरण गरिँदै आएको छ । पछिल्ला वर्षहरुमा चुरे क्षेत्रमा समेत लामखुट्टेजन्य रोगको प्रकोप बढेको डा. मरासिनीको अनुभव छ ।

Loading
TOP