दिदी भिरमा अड्केर बाँचिन्, भाइले घटनास्थलमै ज्यान गुमाए

दिदी भिरमा अड्केर बाँचिन्, भाइले घटनास्थलमै ज्यान गुमाए

पोखरा, असोज २५ । कास्कीको घान्द्रुकमा भएको जिप दुर्घटनामा एकै घरका दिदीभाइ पनि परेका छन् । प्रहरीले दिएको जानकारीअनुसार काठमाडौं महानगरपालिका ३ गंगबु बस्ने २० वर्षीया देबिका घिसिङ भिरमा अल्झेर सामान्य घाइते भएकी छन् । तर, सोही दुर्घटनामा उनका भाइ जिनलव घिसिङको भने घटनास्थलमै ज्यान गयो ।

घान्द्रुकको कलाभिरमा बाटो सोलिङको काम चल्दै थियो । ‘लो पिकअप’मा गएको ग १ ज ६९०० नम्बरको जिपले कलाभिरमा बाटो छिचोल्न नसक्दा दुर्घटना भएको हो । स्थानीयका अनुसार गाडीले पिकअप लिन नसकेपछि करिब २०० मिटर तलको दुरीमा रहेको घुम्तीमा खसेको थियो ।

गाडीबाट खसेर भिरमा अड्किएकी देबिकाको उद्धार भइसकेको छ । तर, जिपमा सवार देबिकाका भाइ जिनलव र चालक खुसीमान क्षेत्रीसहित ८ जनाले घटनास्थलमा ज्यान गुमाए । दुर्घटनामा मृत्यु हुनेहरूमा जिप चालक कास्कीको अन्नपूर्ण गाउँपालिका- ५ का ४२ वर्षीय खुसीमान क्षेत्री रहेका छन् ।

यसैगरी काठमाडौंबाट घुम्न गएका गोंगबुका १८ वर्षीय जिनलव घिसिङ, सोही ठाउँका २४ वर्षीया सुजा चौधरी, २० वर्षीया लिजा चौधरी, २० वर्षीय सुशन चौधरी, २२ वर्षीय अछुतम् काफ्ले, १८ वर्षीय आशिष आले, सोही ठाउँ बस्ने गोरखाका २७ वर्षीय विनय क्षेत्रीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृतकको शव अहिले पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिस्ठान मातहतको क्षेत्रीय अस्पतालमा ल्याइएको छ ।

Loading
TOP