‘देशका लागि स्वर्णपदक जित्दा बेग्लै महसुस हुनेरहेछ’

‘देशका लागि स्वर्णपदक जित्दा बेग्लै महसुस हुनेरहेछ’

काठमाडौं, असोज २७ । राष्ट्रिय प्रतियोगितामा धेरै उपाधि जिते पनि कुसुम खड्काले अन्तर्राष्ट्रिय सफलता हासिल गर्न सकेकी थिइनन् । उनी अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्दाको अनुभव बटुल्न व्यग्र थिइन् । कराँते खेलाडी कुसुमले १२औँ सागमा निकै आशा गरेकी थिइन् । तर, आयोजक भारतले सागमा कराते विधा नै हटाइदिएपछि कुसुमको प्रतीक्षाको घडी झनै लम्बियो ।

सागको १३औँ संस्करण नेपालले नै आयोजना गर्दै थियो । घरेलु मैदानमै हुन लागको सागमा सफलता हात पर्नेमा कुसुम आशावादी थिइन् । किनकि, उनले त्यहीअनुसार मिहिनेत गरेकी थिइन् । सागको पहिलो खेलमा कुसुमले श्रीलंकाको खेलाडीलाई प्रतिस्पर्धीको रूपमा पाइन् । फाइनलमा भने उनले बंगलादेशको खेलाडीलाई प्रतिस्पर्धीको रूपमा पाएकी थिइन् । सबैलाई पाखा लगाउँदै कुसु्मले ४५ किलोमुनिको तौल समूहमा स्वर्णपदक जितिन् ।

“घरेलु प्रतियोगिताहरूमा धैरै पदक जितेँ । प्रायः सबैमा सफलता मिल्यो । सफलतामा सबैलाई खुसी मिल्छ । तर, धेरै भएपछि त्यसको महत्त्व कम हुँदै जाने रहेछ,” कुसुमले भनिन्, “तर, सागमा राष्ट्रको झन्डा बोकेर पदक जित्नु नै ठूलो हो । मैले त स्वर्णपदकै जितेँ । त्यसबाट आमा, बाबा मक्ख हुनुभयो । सबै परिवार मेरो जितमा दंग भए । देशका लागि स्वर्णपदक जित्दा बेग्लै महसुस हुनेरहेछ । त्यो विशेष क्षण म कहिल्यै बिर्सन सक्दिनँ ।”

त्यो विशेष क्षणबारे कुसुम थप्छिन्, “जित्नेबित्तिकै बेग्लै अनुभूति भयो । खेल जीवनले पूर्णता पाएको महसुस भयो । मेरो स्वर्णमा म मात्र खुसी थिइनँ, सबै नेपाली खुसी थिए । अब भने जिम्मेवारी थपिएको महसुस भएको छ ।” पाँच कक्षासम्म पढ्दा कराँतेको बारेमा उनलाई केही ज्ञान थिएन । विद्यालयमा साथीभाइसँगै दौडमा भाग लिन्थिन् । केही समयपछि कुसुमले कराँते खेल्न थालिन् । उनी त्यसैमा रमाउन थालिन् । त्यसपछि घरनजिकैको बौद्ध डोजाङमा भर्ना भइन् ।

सुरुमा कराँते खेल्नका लागि परिवारलाई मनाउन कुसुमले संघर्ष गर्नुप¥यो । जसोतसो उनले कराँते प्रशिक्षणलाई निरन्तरता दिइन् । एक दशकको संघर्षपछि उनलाई ठूलो सफलता मिल्यो । त्यो थियो, १३औँ सागमा स्वर्णपदक । “सानो हुँदा कराँतेबारे केही ज्ञान थिएन । साथीहरू दौडेको देख्दा मलाई पनि रहर लाग्यो । सँगै दैडिन्थेँ । पछि मेरो खेलयात्रा कराँतेतर्फ मोडियो । अहिले सही बाटोमा हिँडेको महसुस हुन्छ,” उनी भन्छिन् ।

कुसुमले बौद्ध डोजाङबाट थुप्रै राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइन् । सुरुका प्रतियोगिताहरूमा उनलाई सफलता मिलेन । तर, असफलताबाट उनले हिम्मत हारिनन् । पूवाञ्चलमा सम्पन्न सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रथम भइन् । त्यसपछि उनको मनोबल बढ्यो । तर, नेपालगन्जमा भएको आठौँ राष्ट्रिय खेलकुदमा उनी असफल भइन् । ४५ केजीमुनिको तौल समूहमा दोस्रो भइन् ।

“सागका लागि छनोटकै रूपमा रहेको आठौँ राष्ट्रिय खेलकुदमा असफल हुँदा मनमा धेरै कुराहरू खेले । मेरो सपना नै पूरा नहुने हो कि भन्ने चिन्ताले सतायो । तर, मेरो लागि अन्तिम छनोट पनि बाँकी थियो । अन्तिम छनोटमा सफल हुन्छु भनेर हिम्मत हारेको थिइनँ,” कुसुम भन्छिन् । आठौँ राष्ट्रिय खेलकुदमा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीहरूलाई सागको छनोटका लागि बोलाइएको थियो । कुसुम दोस्रो भएको नाताले प्रशिक्षणमा सहभागी भइन् । उनको एक मात्र लक्ष्य सागमा देशलाई स्वर्ण दिलाउने भयो ।

“देशको लागि स्वर्ण जित्ने जिम्मेवारी मेरो काँधमा आयो । स्वर्णपदक नै भन्ने थिएन, तर जे जति खेल्छु आफ्नो शतप्रतिशत दिएर खेल्छु भन्ने थियो,” कुसुमले सागको तयारीका दिन सम्झिइन्, “यो दिनदेखि नै सागका लागि जोस, हौसला र आत्मविश्वासको जुगाड गर्न थालेँ । किनकि, मेरो तौल समूहमा स्वर्ण जित्न त्यति सहज भने थिएन ।” कराँते संघभित्रको विवादका कारण खेलाडीहरूले धेरै राम्रो तयारी गर्न भने पाएनन् । पूरेन्द्रविक्रम लाखे र दावा लामाको दुई संघ बनाउने विवादले खेलाडीहरूको तयारीमा समेत असर परेको थियो ।

“नेपालमा राम्रो तयारी हुन सकेन । विवादका बीच खेलाडीले तयारी गर्नुपरेको थियो । तर, हामीले १० दिनका लागि विदेशमा गएर प्रशिक्षण गर्ने मौका पायौँ । त्यही तयारी नै हाम्रा लागि खेल जित्ने आधार बन्यो । सुरुदेखि नै राम्रो तयारी भएको भए नेपालका अझै धेरै खेलाडीले सफलता हात पार्थे,” कुसुमले सुनाइन् ।

Loading
TOP