२८ फागुनमा राप्रपा एकीकरणको घोषणा, नीति र सिद्धान्त: हिन्दू राष्ट्र र राजसंस्था

२८ फागुनमा राप्रपा एकीकरणको घोषणा, नीति र सिद्धान्त: हिन्दू राष्ट्र र राजसंस्था

२५ फागुन, काठमाडौं । लामो समयको छलफल र रस्साकस्सीपछि दुई राप्रपा एक हुने भएका छन् । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), पशुपति शमसेर राणा र डा प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा संयुक्तले १० ब्ुँदे सहमति गर्दै पार्टी एकतामा हस्ताक्षर गरेका छन् ।

लामो समयदेखि पार्टी एकताका बिषयमा छलफल चलेपछि विचार र पद नमिलेका कारण एकता हुन सकेको थिएन । तर शनिवार तीन नेताबीच सहमति भएको छ । नयाँ सहमतिअनुसार राप्रपामा अव तीन अध्यक्ष रहने भएका छन् । कमल थापा, पशुपति शमसेर राणा र डा प्रकाशचन्द्र लोहनी एकीकृत पार्टीको अध्यक्ष हुने भएका छन् ।

नयाँ पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रहनेछ भने पार्टीको चिन्ह र चुनाव चिन्हको टुंगो ६ महिनापछि लगाउने सहमति भएको छ । सहमतिअनुसार डेढ बर्षभित्र पार्टीको महाधिबेशन पनि गर्ने सहमति भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए ।

शनिवार साँझ गरिएको सहमतिअनुसार राप्रपाले आफ्नो नीति र सिद्धान्तमा पनि सहमति गरेको छ । ‘सबै धर्मकाबीच समानता र पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन धर्मसापेक्ष हिन्दुराष्ट्र साझा संस्थाको रुपमा राजसंस्था सहितको प्रजातन्त्र’ राप्रपाको नीति र सिद्धान्त बनेको छ ।

यही सिद्धान्तका आधारमा २८ फागुनमा पार्टी एकता गरिदैछ । अहिले लिइएको नीति र सिद्धान्तलाई कार्यान्वयन गर्न र महाधिवेशनसम्म पार्टीको दैनिक कार्यसंचालन गर्न तीन अध्यक्ष रहने गरी निर्देशन समिति बनाइएको छ । तीनैजना अध्यक्षको हैसियत र मर्यादाक्रम समान हुने र निर्देशन समिति, केन्द्रीय कार्यसम्पादन समिति र केन्द्रीय कार्यसमितिको बैठकको अध्यक्षता आलोपालो गर्ने सहमति गरिएको छ।

Loading
TOP