सामान्य हुदै प्रधानमन्त्री ओलीको स्वास्थ्य

सामान्य हुदै प्रधानमन्त्री ओलीको स्वास्थ्य

२७ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ क्रमिक रूपमा सुधार भइरहेको चिकित्सकले जनाएका छन् ।

मिर्गौला प्रत्यारोपणको पाँचौ दिन आइतबार अस्पतालले ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी गराउँदै सो कुरा बताएको हो। ओलीको गत बुधबार त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

सन्तुलित आहार खान थालेको, मुटु तथा रक्तचापको अवस्था सामान्य रहेको र अन्य स्वास्थ्य सूचकसमेत सामान्य रहेको अस्पतालको भनाइ छ ।

अस्पतालका निर्देशक प्रेमकृष्ण खड्गा र प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले प्रधानमन्त्रीको अवस्थाबारे जानकारी दिएका हुन् । ‘प्रधानमन्त्रीज्यूले सन्तुलित खाना खान र विस्तारै हिँड्न पनि थाल्नु भएको छ,’ अस्पतालका निर्देशक डा. खड्गाले भने ।

ओलीलाई मिर्गौला दान गर्ने भान्जी समीक्षा संर्गौलाको स्वास्थ्य पनि सामान्य अवस्थामा फर्किन लागेको अस्पतालले जनाएको छ । उनी पनि सामान्य हिँडडुल गर्न सक्ने भएको र सन्तुलित आहार लिन थालेको अस्पतालले जानकारी दिएको छ ।

प्रधानमन्त्रीको उपचामरा संलग्न निजी चिकित्सक तथा नेफ्रोलोजिष्ट डा. दिव्या सिंह शाहले स्वास्थ्य सामान्य अवस्थामा फर्किन थालेको बताइन्। ‘कुरा गर्न र ठोस खानेकुरा खान थाल्नुभइसक्यो, कुरा गर्न पनि सक्ने अवस्थामा हुनुहुन्छ,’ शाहले भनिन् ।

अहिलेसम्म कुनै पनि आफन्तलाई भेट्न नदिएको डा. दिव्याले जानकारी दिइन् । ‘उहाँको पत्नीले पनि अहिलेसम्म भेट्नु भएको छैन,’ शाहले भनिन् ।

प्रधानमन्त्रीसित चिकित्सककै रूपमा मात्र कुरा हुने गरेको डा. शाहले बताइन् । प्रधानमन्त्रीको स्वास्थ्यमा छिटो सुधार आउने संकेत देखिएको उपचारमा संलग्न चिकित्सकको भनाइ छ ।

आइतबार नै उनको स्वास्थ्य जानकारी लिन नेकपा नेता झलनाथ खनाल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, नेकपाका नेता नारायणकाजी श्रेष्ठलगायत अस्पताल पुगेका थिए । साथै युरोपियन युनियनका राजदूत, इजरायल र फ्रान्सका राजदूतहरुले प्रधानमन्त्रीको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छन् ।

Loading
TOP