छठी गीतमा मस्त छ मधेस

छठी गीतमा मस्त छ मधेस

लहान, कात्तिक २३ ।

उगहे सुरज देव भेल भिनसरबा अरघके रे बेरबा पुजनके रे बेरबा हो

बडकी पुरकारे देब दुनु कल दोरबा अरघके रे बेरबा पुजनके रे बेरबा हो…

तराई मधेसका बस्तीहरू सोमबारदेखि यो र यस्तै लोकगीतहरूले गुन्जायमान छन्। घरघरमा छठको तयारी सुरु हुँदा सबैको मुखमा छठी पर्वका गीत झुन्डिएका छन्।

केलवा के पात पर उगेलन सुरुज मल झाके झुके

हे करेलु छठ बरतिया से झाके झुके …

छठ पर्वका लागि जोहो गरिने अन्न, फलफूल र पूजा सामग्रीको वर्णन गीतबाटै गरिन्छ।

काँच हि बाँसके बहंगीया, बहंगी लचकत जाय

होई न बलम जी कहरिया बहंगी घाँटे पहुचाय…

अर्थात् काँचो बाँसबाट बनेको डालोमा सरसामान राखेर छठ घाटमा पुर्‍याउन छठ माताले परिवारका पुरुषहरूलाई शक्ति दिऊन् र उनीहरू घाटमा पुगून्।

सूर्यनारायण सत्यनारायण मरवैता क्याम्पस सिरहाका मैथिली भाषाका सहप्राध्यापक उमेशकुमार झाका अनुसार छठका मैथिली,भोजपुरीलगायत भाषामा गाइएका प्रत्येक गीतले शुद्धता, सद्भाव र उपकारको भाव बोकेका छन्।

छठ पर्व कुनै समय प्राचीन मिथिला र भोजपुरा क्षेत्रमा मात्र प्रचलित थियो। कालान्तरमा यो पर्व मैथिली र भोजपुरी भाषाभाषीसँगै देश–देशान्तरसम्म विस्तृत हुँदै आयो।‘छठ वास्तवमा मिथिलाको ग्रामीण पर्व हो’, झाले भने,‘छठ पर्वमा धनी–गरिबबीचको फरक छुट्टिँदैन।’ छुवाछूत, जातीय वा लैंगिक विभेद पनि पाइँदैन।

छठमा प्रसादका रूपमा चढाइने सामग्री ७० थरी पुर्‍याउनुपर्ने मान्यता छ। यस्ता सामग्रीमा मुला,गाजर,ज्यामिर,बेसार,अदुवा, पिँडालु, सुन्तला,केरा, उखु, नरिवल, सुपारी,पान,गेडागुडी, दही आदि हुन्छन्।कुनै कारण ७० प्रकारका सामग्री पुर्‍याउन नसकिए गम्हरी भन्ने धानको चामल चढाउँदा पुग्छ।गम्हरीलाई औषधीय गुणयुक्त मानिन्छ।

छठ पर्वको सुरुवात ब्रतालुले नजिकको पोखरी या नदीमा स्नान गरी अरूवा चामलको भात,रहरको दाल तरकारी (बर्जितबाहेक) खाएर गर्छन्, यसलाई ‘नहाय खाय’ भनिन्छ। दोस्रो दिन दिनभरि उपवास बसेका ब्रतालुले साँझ चन्द्रमाको दर्शन गरिसकेपछि माटोको नयाँ चुलोमा सख्खर,दूध र अरूवा चामलको खिर पकाई केराको पातमा राखेर छठी मातालाई चढाउँछन्। छठी मातालाई चढाएपछि ब्रतालुले ग्रहण गरी खराना मनाउँछन्। पर्वको तेस्रो दिनलाई ‘सँझिया घाट’तथा ‘सौंझका अर्घ’भनिन्छ।

यो दिन बिहानैदेखि ब्रतालुसहित परिवारका सबै सदस्य मिलेर चामलको पिठोमा सख्खर मिसाएर ठेकुवा,भुसुवालगायत प्रसाद तयार पार्छन्। साँझपख ब्रतालुका साथै घरका सदस्य हातमा पूजासामग्री र बलिरहेको दियो बोकेर छठी घाट पुग्छन्। नदी, तालतलैया, पोखरी किनारमा छठी घाट बनाइन्छ।सजाइएको छठी घाटमा ब्रतालु भक्तिभावका साथ उपस्थित भई सूर्यको पूजा गर्छन्।

अहिंसाको पर्व

शाकाहारी र शुद्धतालाई निकै महत्व दिइने छठपूजालाई अहिंसाको पर्व पनि भनिन्छ। ब्रतालु यस पर्वमा प्याज, लसुन, माछा मासु खाँदैनन्। यस पर्वमा सबैको जयजयकार गरिन्छ।

छठ पर्वले संसारमा सबै जीवजन्तुको रक्षा गर्नुपर्छ भन्ने सन्देश दिन्छ। छठपूजाले मनोकामना पूरा हुने विश्वासका साथ यसप्रति जुनसुकै तह, तप्का र क्षेत्रका व्यक्ति तथा समुदायमा आस्था बढेको पाइन्छ।त्यसैले छठ पर्वलाई आस्था र विश्वासको पर्वसँगै सद्भाव र अहिंसाको पर्व पनि भनिन्छ।

किसानको श्रमको कदर

छठ पर्वले कृषि उत्पादनको महत्वलाई स्वीकार गरेको छ। जीवन र प्रकृति एकअर्काका पूरक हुन। प्राकृतिक सम्पदाको संरक्षण गर्नु जीवनको सम्पन्नताको मियो हो भन्ने तथ्यलाई यो पर्वले प्रमाणित गर्छ।

गम्हरी धान, हरियो पातसहित ऊखु, पातसहितको अदुवा, सानो बोडी, केरा, स्याउ, सुन्तला, सुथनी,झुत्रोसहितको नरिवल, कागती,केराको थाम, गहुँ आदिको प्रयोगले यस पर्वले किसानको श्रमको कदर गरेको देखिन्छ।‘हामीले बनाएको सामान अधिक मात्रामा बिक्री हुने बेला यही हो,’ लहान–४ का उमेश पण्डित (कुमाल) सुनाउँछन्।

Loading
TOP