पाैराणिक ओलम्पियालाई डिजिटल रुपमा संरक्षण गर्न माइक्रोसफ्ट र ग्रीक सरकारबीच साझेदारी
काठमाडाैं, कात्तिक ३० । ओलम्पिक खेलको उद्गमस्थल मानिने पाैराणिक ओलम्पियालाई डिजिटल रुपमा संरक्षण गर्नका लागि माइक्रोसफ्ट तथा ग्रीक सरकारबीच साझेदारी भएको छ। यस साझेदारी अन्तर्गत यस क्षेत्रको नक्शांकनका लागि आर्टिफसियल इन्टेलिजेन्स तथा पुनर्उत्थानका लागि अगमेन्टेड रियालिटीको प्रयोग गरिने बुझिएको छ।
यसबाट दर्शकहरुले २००० वर्षअघि ठडिएको उक्त पाैराणिक क्षेत्रका बारेमा जानकारी लिन सक्नेछन्। माइक्रोसफ्ट आफ्नो चिर प्रतिद्वन्द्वी फेसबुकको जस्तै आफ्नै मेटाभर्सको महत्वाकांक्षामा रहेको बीबीसीमा उल्लेख छ। कम्पनीले हालै मिटिङका लागि आफ्नो माइक्रोसफ्ट टिम्स मेटाभर्सको घोषणा गरेको छ भने आफ्ना माइनक्राफ्ट लगायतका गेमहरुलाई थ्रीडीको दुनियाँमा परिवर्तन गराउन तल्लीन रहेको बुझिएको छ।
माइक्रोसफ्टले ग्रीक सरकारसँग सहकार्य गर्नुको पछाडि मानिसहरु अग्मेन्टेड रियालिटी मोबाइल एपको माध्यमबाट उक्त क्षेत्रमै पुगेको अनुभवसहित भ्रमण गर्न सकुन् भन्ने हो। एथेन्समा रहेको ओलम्पिक संग्रहालयमा होलोलेन्स हेडसेट प्रयोग गरेर उनीहरुले ओलम्पिक क्षेत्रको डिजिटल भर्सन बनाउने बुझिएको छ।
माइक्रोसफ्टको अग्मेन्टेड रियालिटी स्मार्ट ग्लास होलोलेन्समा जानकारी डिस्प्ले गर्न, तिनीहरुलाई वास्तविक विश्वसँग जोड्न तथा भर्चुअल दुनियाँसँग तालमेल मिलाउनका लागि थुप्रै सेन्सरहरु, अनुकूलन गर्नसक्ने दृश्य उपकरणहरु तथा होलोग्रामहरु प्रयोग गरिएको छ। संरक्षण गर्नुपर्ने २७ ओटा संरचनामध्ये वास्तविक ओलम्पिक रंगशाला, जियस र हेराको मन्दिर तथा चर्चित कालीगढ फिडियासको कार्यस्थल आदि रहेका छन्।
यी भवनहरु उनीहरुको वास्तविक स्वरुपकै हाराहारीमा रहेका र यिनीहरुमा समयक्रममा आएका परिवर्तन तथा प्रत्येक कालखण्डका कलाकृतिको चित्रण प्रस्ट रुपमा राखिएको छ। माइक्रोसफ्टले एआईमार्फत् सांस्कृतिक सम्पदा पहलका लागि ऐतिहासिक क्षेत्रहरुलाई थ्रीडीमा डिजिटाइज गर्ने विशेषज्ञता रहेको प्रविधि कम्पनी आइकोनेमसँग सहकार्य गरेको छ।
जमिनमा क्यामरा राखेर तथा ड्रोनमार्फत् उक्त क्षेत्रको हजाराैं फोटो खिचेर माइक्रोसफ्टले तिनीहरुलाई प्रशोधन गरेर मोडल बनाउँछ। ‘यो प्रविधिको उपयोगिता अनन्त छ। पहिलोपटक विश्वभरका यात्रुहरुले प्रजातन्त्रको जन्मस्थल, पाैराणिक ओलम्पियालाई भर्चुअल हिसाबले घुम्दै इतिहासको अनुभव गर्न सक्नेछन्’,ग्रीसका प्रधानमन्त्री काइरियाकोस मित्सोताकिसले भने।
‘मानवता तथा आधुनिक प्रविधिलाई मिसाएर विश्वलाई फाइदा पुर्याउने तथा आउँदा पीँढीलाई हाम्रो इतिहास खोतल्नका लागि सशक्त बनाउन पोराणिक ओलम्पियालाई डिजिटल रुपमा संरक्षण गर्नु सांस्कृतिक सम्पदाका क्षेत्रमा अद्वितीय उपलब्धी हो’, माइक्रोसफ्टका अध्यक्ष ब्राड स्मिथले भने।