‘पोस्ट कोभिड’ समस्या कस्तो छ ? जाडोमा कोरोना संक्रमण बढ्छ ?

‘पोस्ट कोभिड’ समस्या कस्तो छ ? जाडोमा कोरोना संक्रमण बढ्छ ?

काठमाडौं, मंसिर ८ । पाटन मानसिक अस्पतालको ओपीडीमा परीक्षणका लागि आउनेमा अधिकांश कोभिड संक्रमणपछि विभिन्न समस्या देखिएकाहरुको बाहुल्यता छ । विज्ञहरूका अनुसार गम्भीर संक्रमण भएका तथा परिवारका सदस्य गुमाएकाहरूमा पोस्ट कोभिडको समस्या धेरै देखिने गरेको छ ।

यसबाहेक कोभिड–१९ संक्रमणको जोखिमबाट बच्न अपनाइएका उपायहरूले नै धेरैमा पोस्ट कोभिड समस्याहरू निम्त्याएको मनोविदहरू बताउँछन् । मनोविद तृष्णा बिष्ट संक्रमणको दुईवटा लहरपछि मानिसहरूमा कुनै पनि काम अनिवार्य रूपमा गर्नै पर्ने, एउटै क्रियाकलाप दोहो-याइरहने, निन्द्रा नलागनेजस्ता समस्या लिएर आउने गरेको बताउँछिन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अहिले कोभिड संक्रमितको  संख्या  घटेको छ । अहिले १५ जनाको हाराहारीमा बिरामी उपचाररत रहे पनि पोस्ट कोभिडको समस्याका कारण केही बिरामी भर्ना भएका छन् । अस्पतालका निर्देशक डा. अनुप बास्तोला कोरोना संक्रमण भएर निको भएकाहरू श्वासप्रश्वास र निन्द्रा नलाग्ने समस्या लिएर आउने गरेको बताउँछन् । “यो संख्या धेरै त छैन । तर, फाट्टफुट्ट भने यस्ता बिरामी आइरहेकै छन्,” उनले भने ।

कोभिड संक्रमितको संख्या कम भए पनि यस्तो समस्या भएका बिरामी पहिलो लहरदेखि नै अस्पतालमा आउने गरेको डा. बास्तोलाको अनुभव छ । कोभिड–१९ को संक्रमण निको भएपछि पनि व्यक्तिमा देखिने विभिन्न समस्याहरू पोस्ट कोभिड लक्षण हुन् । यसमा श्वासप्रश्वास, मुटु, मानसिक समस्यालगायत समस्या बढी देखिने गरेको अध्ययनहरूले देखाएका छन् ।

एकपटक गम्भीर संक्रमण भएकाहरूले सधैँ सतर्क रहनुपर्छ

त्रिवी शिक्षण अस्पतालको कोभिड केयर युनिटमा पनि पोस्ट कोभिडका विभिन्न समस्या लिएर दैनिकजसो बिरामी आउने गरेका छन् । गम्भीर संक्रमण भएर आईसीयूमा उपचार गराएर निको भएका तथा निमोनिया भएका बिरामीहरूमा श्वासप्रश्वास र फोक्सोसम्बन्धी समस्याहरू देखापर्ने गरेको अस्पतालका वरिष्ठ छातीरोग विशेषज्ञ डा. निरज बम बताउँछन् ।

“कोभिड–१९ को गम्भीर संक्रमण भएका व्यक्तिहरूको फोक्सोमा लामो समयसम्म दाग रहिरहनसक्छ । यसले उनीहरूमा विभिन्न समस्या निम्त्याउँछ । कतिपय त ६ महिनासम्म पनि अक्सिजनको सहारामा बस्नुपर्ने अवस्था आएको छ,” डा. बमले भने ।

जाडोयाममा बढ्छ कोभिड संक्रमण ?

नेपालमा पछिललो तीन महिनायता कोभिड संक्रमणको अवस्था स्थिर छ । पछिल्ला दिनहरूमा दैनिक १० देखि १३ हजार नमुना परीक्षण गर्दा तीनसयको हाराहारीमा नयाँ संक्रमित थपिने गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।

मंसिर ७ गतेसम्म नेपालमा कोभिड संक्रमितको हुनेको जम्मा संख्या ८ लाख १९ हजार ६९९ पुगेको छ भने सक्रिय संक्रमित ७ हजार ३०० छ । यसअघिका दुईवटा लहरमा जाडोयाममा संक्रमण बढ्ने आकलन धेरैको थियो । तर, वैशाखदेखि साउनसम्म संक्रमण उच्च बिन्दुमा पुगेको थियो ।

जाडो महिना भाइरसका लागि अनुकूल वातावरण भए पनि अहिलेको अवस्थालाई हेर्दा आउँदै गरेको जाडोमा संक्रमण उच्च हुने सम्भावना कम रहेको विज्ञहरू बताउँछन् । वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन नेपालमा लामो समय एउटै भेरियन्टले निरन्तरता पाइरहेको र विश्वमा पनि अहिले नयाँ भेरियन्ट नदेखिएकाले तत्काल अर्को लहर आउने सम्भावना नरहेको तर्क गर्छन् ।

“संक्रमितको संख्या घटबढ हुनसक्छ । तर, अहिलेको अवस्थालाई हेर्दा अर्को लहर आइहाल्ने भन्ने सम्भावना देखिँदैन,” डा. पुनले भने, “जाडोकै कारण कोभिड–१९ संक्रमण बढ्ने भन्ने चाहिँ हुँदैन ।”

Loading
TOP