टिकट वितरणमा सावधानी नपनाए परिणाम काँग्रेसको विपक्षमा आउन सक्छः नेता सिंह

टिकट वितरणमा सावधानी नपनाए परिणाम काँग्रेसको विपक्षमा आउन सक्छः नेता सिंह

काठमाडौँ ।

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी नेतृत्वले आफ्ना मान्छेलाई छान्दा समग्र पार्टीलाई असर परिरहेको बताएका छन्।

मंगलबार नेपाल निर्माण व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना दिँदै नेता सिंहले यस्तो बताएका हुन्।

हरेक निर्वाचनमा चाप्लुसी गर्नेहरूले टिकट पाउने गरेकोप्रति लक्षित गर्दै उनले आफ्ना मान्छेलाई स्थानीय तह, प्रदेश तथा संघीय निर्वाचनमा उम्मेदवार बनाउने परिपाटीका कारण सिंगो पार्टीलाई असर परिरहेको बताए। सिंहले नेपाली कांग्रेसले स्थानीय तहका लागि निर्वाचनमा उम्मेदवार छनोट गर्दा पार्टीको विधान र नियमावलीलाई पालना गर्न आवश्यक रहेको औँल्याए। स्थानीय तहको निर्वाचनमा हरेक वडा तथा पालिकामा उम्मेदवार छनोट गर्दा सर्वसम्मत हुनुपर्ने र त्यसो हुन नसके वडा तथा पालिकाहरूमा छाप छाडेको व्यक्तिलाई छनोट गर्नुपर्ने प्रस्ट पारे।

‘कांग्रेसमा देखा परेको कस्तो हो भने कोही सबैको प्रियपात्र हुन खोज्ने, विधि–विधानअनुसार पालना नगराउने । भन्ने तीनजनाको, सिफारिस १५–२० जना पठाएपछि कहाँबाट राम्रोसँग हुन्छ,’ नेता सिंहले भने, ‘उम्मेदवार हुन पहिला संगठनमा काम गरेको हुनुपर्छ। वर्कसहरूले चिनेको हुनुपर्छ। चुनावमा जाँदा पनि पब्लिकसँग जुन वडामा उठ्ने हो त्यो वडामा भिजेको मान्छे त हुनुपर्‍याे नि। यो खालि विधि–प्रक्रिया पूरा गरेर पब्लिकले नचिनेको मान्छे परेमा गाह्रो हुन्छ पार्टीलाई।’

Loading
TOP