आँखा उपचारमा प्रभावकारी बन्दै ‘एक कप चिया दान अभियान’

आँखा उपचारमा प्रभावकारी बन्दै ‘एक कप चिया दान अभियान’

काठमाडौं । काठमाडौको टेकुमा नमस्ते आइ सेन्टर सञ्चालन गर्दै आएका सिद्धार्थकुमार रञ्जित एक सामान्य नागरिक हुन् । उनको समाजसेवी भावना देख्दा र सुन्दा जो पनि छक्क पर्छ । उनले जति काम गरेका छन्, ती सबै समाजको लागि नै गरेका छन् ।

उनले दक्षिण भारत र अष्ट्रेलिया गएर आँखासम्बन्धी पढे । त्यहाँ पढेको ज्ञानले उनी त्यहीँ पनि काम गर्न सक्थे र प्रशस्त आम्दानी हुन्थ्यो तर उनको मन मानेन । आफ्नै देशमा गएर केही गर्ने सोचले नेपाल फर्किएका उनले आँखा उपचारको क्षेत्रमा राम्रो पहिचान बनाएका छन् । उनी एकातिर शुल्क लिएर उपचार गर्छन् भनें त्योभन्दा बढी उनी निःशुल्क रुपमा काम गर्छन् । ‘मलाई कमाउनुपर्छ भन्ने त्यति लाग्दैन, खान लाउन र बस्न पुगेकै छ’ उनी भन्छन् ‘समाजको लागि केही गरौं भन्ने धोको छ त्यसैले यतातिर बढी समय दिएँ ।’ अष्ट्रेलियन प्रोफेसर फ्रेद हलोसको छात्रवृत्तिमा अष्ट्रेलिया पढ्न गएका उनले त्यहाँबाट आँखा उपचारसम्बन्धी आधुनिक कोर्ष गरे । नयाँ कोर्ष गरेर नेपाल आएपछि उनले तत्कालीन राजा विरेन्द्र, रानी र परिवारको आँखाको अवस्था हेरे । उनले विराटनगरको गोल्छा आँखा अस्पतालमा ५ वर्ष, भैरहवाको रणअम्बिका आँखा अस्पतालमा १ वर्ष, पाल्पामा रहेको रणअम्बिकामै केही समय र काठमाडौंको त्रिपुरेश्वरमा रहेको नेपाल आँखा अस्पतालमा २१ वर्ष सेवा गरे ।

उनले अब सामाजिक संस्था खोलेर केही काम गर्नुपर्छ भन्ने सोच बनाएर थ्यगतज भथभ कभचखष्अभ (युवा नेत्र सेवा) संस्थाको २०५२ साल पौष १ गते स्थापना गरे । संस्थामा रञ्जित अध्यक्ष छन् भनें ९ जनाको कार्यसमिति छ र १८ जना सल्लाहकारमा छन् । संस्था खोलेको दिन नै विश्व हिन्दु महासंघसँगको समन्वयमा धर्मस्थलीमा ९९ जनाको निःशुल्क आँखा उपचार भएको थियो । आँखाको उपचार गर्नबाट र स्वस्थ्य आँखा हुनबाट कोही पनि वञ्चित हुनु नपरोस् भन्ने उद्येश्यले सुरु भएको यो संस्थाको प्रभावकारिता बढ्दै गएको अध्यक्ष रञ्जितको भनाई छ । ‘देश र समाजको लागि केही गरौं भन्ने सोच हो, सबैको सहयोगले अघि बढेको छु’ उनले भने ‘हामी स्वास्थ्यमा त्यति चासो राख्दैनौं, आँखाजस्तो विषयमा बढी संवेदनशील हुनुपर्छ भन्ने मेरो कुरा हो ।’ संस्थाले काठमाडौंको कीर्तिपुरमा, बलम्बुमा, धादिङ, ललितपुरका साथै लुम्बिीनी पनि पटक पटक आँखा शिविर गर्दै आएको छ ।

थाइल्याण्ड राजदूतावासको सहयोगमा लुम्बिनी थाइ टेम्पलमा २०६६ सालदेखि निरन्तर ५ वर्ष मोतिबिन्दुको उपचार गरियो । आँखा चेक गर्दा मोतिबिन्दु देखिएकालाई संस्थाले निःशुल्क उपचार गरिदिँदै आएको छ । सामूहिक रुपमा मोतिबिन्दुको उपचार गर्दा ७ हजार ३ सय रुपिँया लाग्ने रञ्जितको भनाई छ ।
उनले संस्थाको लागि आर्थिक स्रोत जुटाउने पनि एउटा सजिलो बाटो सुरु भयो । यो उनले सोचेका पनि थिए तर परिस्थिति त्यस्तै भयो ।

अमेरिका वसोवास गर्ने रत्ना डंगोलले आमाको उपचारका लागि त्यहाँ ल्याइन् । रत्नाले सोचेको भन्दा राम्रो रञ्जितले उपचार गरे त्यसपछि उनी प्रशन्न भइन् र के सहयोग गरौं भनिन् । उनले संस्थाको लागि एक कप चियाको मूल्य सहयोग गर्न आग्रह गरे ।

२०६५ भदौ २३ गतेबाट उनले एक कप चियाको पैसा सहयोग गरिरहेकी छिन् । ‘एक कप चिया दान अभियान’ मा ४ सय जना साधारण सदस्य भइसकेका छन् । संस्थाले अघि सारेको योजना प्रभावकारी बन्दै गएपछि यहाँ उपचार गर्न आउनेले पनि अभियानमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । हङकङ, अष्ट्रेलिया, थाइल्याण्ड, भारत, दुवई, इङ्ग्ल्याण्ड, फ्रान्स, होल्याण्ड, जापान, स्वीटजरल्याण्ड, जर्मनलगायतका देशमा बस्दै आएका नेपाली र अन्य नागरिक अभियानको सदस्य बनेका छन् । उनीहरुले एक कप चियाको पैसा संस्थालाई पठाइदिन्छन् । संस्थाले हिमालयन बैंकको टेकु शाखामा ०१८०२३१५५६००१५ नम्बरको खाता सञ्चालन गरेको छ । संस्थाले कसैलाई सहयोग गर्न मन भए यसै बैंकमा रकम जम्मा गरिदिन पनि अनुरोध गरेको छ । संस्थाले अहिलेसम्म ५५ हजार जनाको आँखा परीक्षण गरिसकेको छ भनें १५ सयभन्दा बढी मोतिबिन्दुको शल्यक्रिया गरिसकेको छ । संस्थाले पटक पटक आँखासम्बन्धी निःशुल्क शिविर गर्दै आएको छ । विशेष गरी शिक्षकलाई प्रशिक्षण दिने र शिक्षकले सिकिसकेपछि आफ्ना विद्यार्थीको आँखाको अवस्थाबारे जानकारी पाउने संस्थाको बुझाई छ । आँखाको समस्याका कारण कतिपय विद्यार्थीहरुको पढाइमा प्रभाव परेकाले विद्यार्थीको समग्र आँखाको अवस्थाबारे बुझ्ने र समस्या परेकालाई उपचार गर्न सिफारिस समेत शिक्षकले गर्ने छन् । संस्थाले उपचारमा समन्वय गर्दै आएको छ । तालिम लिएका शिक्षकले थप अभ्यास गर्ने उपयुक्त स्थान बनेको छ रञ्जित प्रोपाइटर रहेको नमस्ते आई सेन्टर ।

संस्थामा १ सय ३२ जना आजीवन सदस्य र ३ सय जना साधारण सदस्य छन् ।
रञ्जित चित्रकलामा पनि पोख्त छन् । उनी विभिन्न सामग्री भेला गरेर आफैं चित्र कोर्ने र मुर्ति बनाउने गर्छन् । यसरी विभिन्न ठाउँमा गरिएको प्रदर्शनीबाट प्राप्त रकम पनि संस्थाको कोषमा नै जम्मा हुने गरेको छ ।

शिविर सञ्चालन गर्दा र मोतिबिन्दुको उपचार गर्दा यो कोषको पैसा खर्च गर्ने गरिएको छैन । विभिन्न व्यक्ति र संस्थाको सहयोगबाट र नपुगे रञ्जित आफैलें व्यक्तिगत ढंगबाट लगानी गर्दै आएका छन् । उनले आगामी दिनमा आँखा अस्पताल खोल्ने र बिरामीलाई उपचार गर्ने लक्ष्य लिएका छन् । ‘अभियानमा सदस्य बढ्दै गएपछि पैसा पनि बढी आइरहन्छ त्यो पैसाले अस्पताल खोल्ने इच्छा छ’ उनले भने ‘यो सामाजिक काम भएकाले पक्कै पनि सबैको समर्थन होला भन्ने लाग्छ ।’

Loading
TOP