भुवन केसीले काठमाडौंको मेयर उठ्ने निश्चित नभएको भन्दै सामाजिक सञ्जालमा यस्तो गुनासो गरे

भुवन केसीले काठमाडौंको मेयर उठ्ने निश्चित नभएको भन्दै सामाजिक सञ्जालमा यस्तो गुनासो गरे

काठमाडौं । अभिनेता भुवन केसी पटक पटकको निर्वाचनमा चर्चामा आउने गरेका छन् । उनी कहिले एमालेको तर्फबाट सांसद् उठ्ने हल्ला हुन्छ भनें कहिले काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बन्ने चर्चा चल्छ । अहिले उनी काठमाडौको मेयर उठ्ने भनेर सामाजिक सञ्जालमा चर्चा चलेपछि उनले आज फेसबुकमा स्टाटस लेख्दै यसबारे प्रष्ट पारेका छन् ।

उनले फेबसकमा लेखेका कतिपय कुराप्रति आपत्ति पनि जनाएका छन् । उनले कलाकारले पनि राजनीति गरेर समाजको सेवा गर्छु भन्नु अस्वभाविक नभएको बताएका छन् । ‘मैले यो काठमाडौं उपत्यकाको पुस्तैनी रुपमा सम्पदा, समस्या र सम्भावनाहरूलाई मनैदेखि आत्मसात गरेको छु । त्यसैले यस महानगरको मेयरको रुपमा कुनै कलाकारले जनताको सेवा गर्ने इच्छा राख्नु अस्वाभाविक होइन भन्नेमा पनि विश्वस्त छु,’ उनले लेखेका छन, ‘तर एउटा कलाकारले जनप्रतिनिधिको रुपमा जनताको सेवा गर्ने सक्दैन भन्ने प्रकारका टिप्पणीहरु आएको देख्दा चाहिँ अझै पनि नेपाली समाजमा राजनीतिप्रतिको एकलकाँटे दृष्टिकोण कति जबरजस्त रहेछ भन्ने बुझेर म खिन्न पनि भएको छु । तर ती प्रतिक्रियाका कारण नभई प्राविधिक कारण तथा कार्यव्यस्ताका कारण म महानगरपालिकाको मेयर पदमा उम्मेदवार बन्नका लागि असमर्थ रहेको छु । र, यसै पत्रमार्फत हालका दिनसम्म म कुनै पनि पार्टीमा नरहेको पनि जानकारी गराउन चाहन्छु ।’

स्थानीय तहको निर्वाचनको संघारमा धेरै राजनीतिक दलसँग आफ्नो छलफल हुने क्रममा स्वागत नेपाल नेतृत्वको उन्नत लोकतन्त्र पार्टीसँग पनि छलफलमा बसेको, तर ठोस निर्णय भने नभएको पनि केसीले बताएका छन् । उनले अहिले कुनै पनि दलमा आबद्ध नरहेको समेत उल्लेख गरेका छन् । उनले उन्नत लोकतन्त्र पार्टीप्रति भने आफ्नो नैतिक समर्थन रहने बताएका छन् । केही दिनअघि उन्नत लोकतन्त्र पार्टीको बैठकले अभिनेता केसीलाई काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

Loading
TOP