पर्यटनलाई बेवास्ता नगर्न पर्यटन विभाग प्रमुख डंगोलद्धारा एमालेलाई ध्यानाकर्षण

पर्यटनलाई बेवास्ता नगर्न पर्यटन विभाग प्रमुख डंगोलद्धारा एमालेलाई ध्यानाकर्षण

काठमाडौं । नेकपा एमालेका काठमाडौं जिल्ला कमिटी पर्यटन विभागका अध्यक्ष मनिराज डंगोलले स्थानीय तह निर्वाचनको पार्टीको घोषणापत्रमा पर्यटनका विषयलाई बढी समेट्न आग्रह गरेका छन् ।

प्रमुख डंगोलले देशको आम्दानीको प्रमुख श्रोत पर्यटन भएकाले यो क्षेत्रलाई विशेष प्राथमिकतामा राख्न अनुरोध गरेका हुन् । ‘पर्यटन भनेको देशको गहना हो, यो क्षेत्रको विकासका लागि पार्टीले घोषणापत्रमा स्पष्ट रुपमा पर्यटनलाई समेट्नुपर्छ’ डंगोलले भने ‘ नेपालमा पर्यटनको प्रशस्तै सम्भावना छ, त्यसलाई चिन्ने हो भनें क्षणभरमै आर्थिक समृद्धि हुन सक्छ ।’ लामो समयदेखि पर्यटनको विषयमा आफ्नो धारणा राख्दै आएका उनले पार्टीलाई पनि यसबारेमा जानकारी गराएका छन् ।

नेकपा एमालेले भनेको ‘सुखी नेपाली, समृद्ध नेपाल’ को लक्ष्य पूरा गर्न पनि पर्यटनलाई जोड दिनुपर्ने उनको तर्क छ । टोखा निवासी उनले टोखाको पर्यटनको बारेमा सर्वसाधरणलाई बुझाउने हो भने पनि धेरै सम्भावना भएको जनाएका छन् । पर्यट विभागले टोखा पर्यटन बुलेटिन २०७८ पनि प्रकाशन गरेको छ ।

‘समृद्ध त अरु देशसँग मागेर पनि हुन सकिन्छ तर सुखी हुनु भनेको अर्कै कुरा हो’ उनले थपे ‘मैले पटक पटक पार्टीमा पनि यो कुरा उठाउँदै आएको छु, सबैले ठिकै छ भने पनि खासै ध्यान दिइएको छैन ।’ नेकपा एमाले काठमाडौंका जिल्ला कमिटी सदस्य उनी सम्पदा संरक्षण दबु (समाज) का अध्यक्ष पनि हुन् । उनले विभिन्न जातिको रितिरिवाज, धर्म, संस्कृति र परम्पराको संरक्षणमा जोड दिएका छन् । ‘ पर्यटनको बारेमा मानिसलाई बुझाउनु पनि जरुरी छ, नेपालको पर्यटन क्षेत्रको विकासबारे सबै एकजुट हुनुपर्ने बेला भएको छ’ उनले भने ‘एमालेले मात्र होइन अरु पार्टीले पनि यसबारे गम्भीरता देखाउनुपर्ने बेला भएको छ ।’

उनले पर्यटनबारे पाठ्यक्रममा नै समावेश गर्नुपर्ने सरकारलाई सुझाव दिएका छन् । एमालेले ९ गते स्थानीय निर्वाचनको लागि पार्टीको घोषणापत्र सार्वजनिक गर्दैछ ।

Loading
TOP