कक्षा ११ र १२ को गणित विवादबारे अध्ययन गर्न समिति गठन

कक्षा ११ र १२ को गणित विवादबारे अध्ययन गर्न समिति गठन

२९ फागुन,  भक्तपुर । पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ र १२ मा गणित तथा कम्प्युटर विषयका बारेमा अध्ययन गर्न समिति गठन गरेको छ ।

पुल्चोक इञ्जिनियरिङ क्याम्पसका प्राध्यापक सुवर्ण शाक्यको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको हो । 

समितिले गणित तथा कम्प्युटर विज्ञान विषयसँग सम्बन्धित विश्वविद्यालय र उच्च शिक्षा सम्बद्ध सरोकारलालाहरुसँग छलफल गरेर सुझावसहित सात दिन भित्र प्रतिवेदन दिन भनिएको छ । 

समितिलाई विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ र यसमा भएको विषयगत संरचनाका बारेमा अध्ययन गर्ने तथा साधारण धार तर्फ कक्षा ११ र १२ दुवैमा भौतिक विज्ञान, प्राणी विज्ञान र रसायन विज्ञान विषयका अतिरिक्त कम्प्युटर विज्ञान तथा गणित विषय अध्ययन गर्ने प्रावधान मिलाउने बारेमा उपयुक्त सम्भावनाको खोजी गर्ने कार्यादेश दिइएको छ  ।  

कक्षा ११ र १२ मा गणित विषयलाई ऐच्छिक बनाइएको पाठ्यक्रम प्रारुपको व्यवस्थाप्रति विरोध गर्दै गणित र कम्प्युटर विषयलाई अनिवार्य बनाउनु पर्ने माग भइरहेको छ ।

उक्त प्रारूपमा कक्षा ११ र १२ मा नेपाली र अंग्रेजी विषयहरूलाई अनिवार्य र कक्षा ११ मा सामाजिक अध्ययन तथा १२ मा जीवनोपयोगी शिक्षालाई अनिवार्य गरिएको छ ।

विभिन्न चारवटा समूहहरू मध्येबाट कुनै ३ ऐच्छिक विषयहरू रोज्नु पर्ने तथा विद्यार्थीले चाहेमा अर्को समूहबाट एक विषय थप ऐच्छिक विषयको रूपमा पढ्न सक्ने व्यवस्था छ । 

यस्तै माध्यामिक तहको परिमार्जित पाठ्यक्रम अनुसार कक्षा ९ र १० बाट ऐच्छिक गणित विषय हटाइएको छ । 

समितिमा संयोजक शाक्य सहित सानोठिमी क्याम्पसका रमाकान्त पाण्डे, पाठ्यक्रम विकास केन्द्रका गणित तथा विज्ञान शाखाका निर्देशक प्रमिला वखती र प्रकाश खतिवडा सदस्य रहेका छन् भने सदस्य सचिवमा केन्द्रका अधिकृत खिलानाथ धमला रहेका छन् ।  
 

Loading
TOP