पहिलो कार्यकालका अधूरा कार्य दोस्रो कार्यकालमा गर्ने छु: वड़ाध्यक्ष उम्मेदवार ढकाल
काठमाडौं । काठमाडौं वडा नं.29 का वडाध्यक्ष कुश ढकाल ले आफ्नो पहिलो कार्यकाल सफलतापूर्वक रहेको बताउनुभएको छ ।
आफ्नो पहिलो कार्यकालमा थुप्रै जनमुखी काम भएकाले फेरि पनि आफू नै वडा अध्यक्षमा निर्वाचित हुनेमा उहाँ विश्वस्त देखिनुहुन्छ ।
उहाँले आफ्नो पाँच वर्षे कार्यकालमा उत्कृष्ट कामहरु गरेर जनताको मन जित्न सफल भएको बताउनुभयो । तर ५ बर्षमा गर्न नसकेका अधुरा कामका लागी फ़ेरि पनि उमेदवार भएको बताउनु भएको छ ।
पाँच वर्षे कार्यकालमा सानो–सानो गल्लीमा ढल, बत्ती, ब्लक छाप्ने, खानेपानी, ढलान जस्ता महत्वपूर्ण काम गरेको उहाँको दाबी छ । उहाँले गल्लीमा यी कार्य सम्पन्न गरेको र लगभग ७५ प्रतिशत ब्लक छाप्ने र ढलको काम सम्पन्न गरेको बताउनुभयो ।
यस्तै बत्ती जडान गर्नुका साथै बाटो विस्तार पनि गरेको र केही फिनिसिङ टच दिन बाँकी रहेको उहाँको भनाइ छ । आफुहरुले निरन्तर जनताका लागि विकासमुखी काम गर्दै गर्दा पनि महानगरबाट अपेक्षा गरे जस्तो साथ, सहयोग र समर्थन पाउन नसकेको वडा अध्यक्ष ढकालले बताउनुभयो ।
सायद आफूहरु अपोजिशन पार्टी भएकै कारणले गर्दा अरु वडाभन्दा धेरै विकास गरेता पनि महानगरमा लगेका धेरै योजना स्वीकृत नगरिएको र केही स्वीकृत गरिए पनि अन्तिम समयमा आएर ती कार्यसम्पादन हुन नपाएको उहाँको गुनासो छ ।
वडा अध्यक्ष ढकालले कोरोना कहरका बखत पनि आफूहरुले उत्कृष्ट काम गरेको बताउनुभयो । घर घरमा गएर सेनिटाइजर, मास्क वितरण गर्नुका साथै राहत वितरण गरेको उहाँले बताउनुभयो ।