अन्तर्वार्ता सकिएपछि स्थापितले भने- ‘कति ढ्याक्सी भएकी ? भुँडी किन भ्यात्त?’

अन्तर्वार्ता सकिएपछि स्थापितले भने- ‘कति ढ्याक्सी भएकी ? भुँडी किन भ्यात्त?’

– सलोजा दाहाल

नेपाल टेलिभिजनमा समाचार सम्पादकको जिम्मेवारीमा रहेकाले स्थानीय तह निर्वाचन नजिकिएसँगै रिपोर्टिङ गर्ने विषय पनि निर्वाचन केन्द्रित नै भए। कसरी निर्वाचन सम्बन्धी बढीभन्दा बढी विषय उठाउन सकिन्छ अनि अन्यभन्दा फरक एङ्गल दिन सकिन्छ भनेर समाचार कक्षमा नियमित छलछल हुन्छ नै। अलि चर्चामा रहेका महानगरपालिका, नगरपालिका केन्द्रित समाचार बन्नु स्वाभाविक पनि हो।

काम बाँड्दा मेरो जिम्मेवारीमा काठमाडौँ महानगरपालिका र उम्मेदवारको चुनावी अभियानबारे समाचार बनाउनुपर्ने आयो। काठमाडौँमा मुख्य दलका उम्मेदवार मात्रै हैन स्वतन्त्र पनि प्रतिस्पर्धामा देखिए। यसका लागि मुख्य दलका उम्मेदवारसँगै चर्चामा रहेका स्वतन्त्र उम्मेदवारलाई समेत सम्पर्क गरेँ। केहीले भ्याउनुभयो। केहीले भ्याउनुभएन। सकेसम्म सबै पक्षलाई समेट्ने प्रयास गरिरहेको थिएँ।

एमालेका मेयर उम्मेदवार केशव स्थापितसँग प्रतिक्रिया लिने पहिलो दिनको प्रयास सफल भएन। त्यसपछि एङ्गल नै परिवर्तन गरेर निर्वाचनमा उम्मेदवारसँग नागरिकको अपेक्षा सम्बन्धी समाचार बनाएँ।

महानगर केन्द्रित भएर उम्मेदवारको प्रतिक्रिया सहित समाचार बनाउने काम बाँकी नै थियो। त्यसका लागि स्थापित बाहेकका उम्मेदवारसँग अन्तरवार्ता लिइसकेकी थिएँ। स्थापितसँग अन्तर्वार्ताका लागि पुन: प्रयास गरेँ।

यो कार्यालयको असाइनमेन्ट थियो। जसरी पनि पूरा त गर्नपर्‍यो। मुख्य दलकै उम्मेदवारको भनाइ नराखी अन्य दलको मात्र राख्दा ‘बायस्ड’ भएको आरोप आउने नै भयो चुनावमा। उम्मेदवारसँग सम्पर्क हुन नसकेपछि उनको सञ्चार हेर्ने मोहन बास्तोलामार्फत सम्पर्क गर्ने प्रयास त गरेँ तर सफल भएन। अनि मैले चुनावी सभामा भेटेर अन्तर्वार्ता लिने योजना बनाएँ।

उनी कहाँ-कहाँको सभामा जान्छन् भनेर खोज्न बसन्तपुरवासी नेपाल टेलिभिजनकै भिडियो एडिटर राजन महर्जनले सहयोग गरे। वैशाख २२ उनी गते बसन्तपुर क्षेत्रकै दमै टोलमा चुनावी सभामा रहेको सूचना पाएपछि बिहान करिब साढे १० बजे हामी त्यहाँ पुग्यौं।

चुनावी सभामा स्थापितको सम्बोधन सकिएपछि हामीले उहाँलाई समाचारको लागि अन्तर्वार्ता दिन अनुरोध गर्‍यौं। फोनमार्फत समय माग्दा नमिले पनि क्यामरा लिएर अगाडि जानासाथ सजिलै बोल्न तयार हुनुभयो।

मैले चुनाव केन्द्रित विषय मात्र उठाएँ। करिब २५ वर्ष अघि काठमाडौँ महानगरपालिकाको मेयर बनेर चर्चा कमाएका उनलाई मैले २५ वर्षपछि नागरिकका घर-दैलोमा पुग्दा उनीहरूका अपेक्षामा के परिवर्तन आएछ भनेर अन्तिम प्रश्न गरेँ। यति बेलासम्म करिब ४ मिनेटको अन्तरवार्ता भएछ। त्यसपछि मैले धन्यवाद भनें, क्यामरा पर्सन अनुप घिमिरेले क्यामरा बन्द गरे।

अनि उनले मेरो शरीर माथिबाट सरर तलसम्म हेरे।

‘कति ढ्याक्सी भएकी?, भुँडी किन भ्यात्त पारेकी?, अनुहार के बनाएर आएको?, मिडियाको मान्छे हेर्दा आनन्द लाग्ने बन्नुपर्दैन?,’ उनी नरोकिइकन मेरो शरीरको बनौटबारे प्रतिक्रिया दिन थाले।

उनले यी सबै यति चाँडै भने कि मैले केही प्रतिक्रिया जनाउनै सकिनँ। उनीसँग अकस्मात् सोच्दै नसोचेको प्रतिक्रिया आएपछि म त अवाक् भएँ। मैले पत्रकारिता थालेको १७ वर्षको अन्तरालमा कोही पहिलो पटक भेटेको व्यक्तिले यति सजिलै र यति चाँडै मेरो शरीरमाथि जज गरेको यो पहिलो पटक थियो।

के भन्ने, के नभन्ने दिमागै चलेन।

भर्खरै बच्चा जन्माएकी म र बच्चालाई दूध खुवाउँदै गरेको मेरो शरीर उनले अपेक्षा गरेकोभन्दा अलि मोटै होला। उनले कल्पना गरेको मिडियाकर्मीको दाँजोमा म नराम्री पनि हुँला।

तर, म सुन्दरी प्रतियोगितामा भाग लिन त गएकी थिइनँ। सरकारी टेलिभिजन नेपाल टेलिभिजनको बुम र क्यामरा सहित समाचार बनाउन अन्तर्वार्ताका लागि मेयरका उम्मेदवारकहाँ गएकी थिएँ।

उनले तिमीले गरेको प्रश्न मिलेन, अलि चित्त बुझ्दो प्रश्न गर भनेर प्रतिक्रिया जनाएका भए स्वाभाविकै हुन्थ्यो। कहिलेकाहीँ प्रश्न गर्दा गल्ती हुनसक्छ। तर रिपोर्टिङमा गएकी पत्रकारलाई नितान्त शरीर हेरेर जुन प्रतिक्रिया उनले दिए त्यसले मलाई निरन्तर घोचिरह्यो।

सार्वजनिक स्थलमा क्यामरा पर्सन सहित गएकी पत्रकार ‘केटी’लाई त यति तुच्छ टिप्पणी गर्न सक्ने उनले अरूलाई के गर्छन् होला? राजनीतिमा उदाउँदै गरेका धेरै युवा (केटीहरू), धेरै मिहिनेत र लगनका साथ लोकसेवा पास गरेर कार्यालयमा काम गर्न आउने कर्मचारीहरू जो स्थानीय तहमा प्रत्यक्ष सरोकार राख्छन् उनीहरू यदि स्थापितको वरिपरि पुगे भने के होला?

उनी मेयरका उम्मेदवार। निर्वाचन जिते भने नगरपिता कहलिने छन् काठमाडौँको। महानगरका अभिभावक हुनेछन् उनी। उनीसँग त सहयोगको अपेक्षा पो गरिन्छ महानगरवासीको भएकाले। उनी मेयर भएर अभिभावकको भूमिका निर्वाह गरून् भन्ने चाहनु पनि स्वाभाविकै हो।

तर, कोही महिलाको शरीर माथि यसरी भद्दा मजाक गर्ने उनी सम्झिएर अत्यास लाग्यो। वर्षौँदेखि सार्वजनिक जीवन व्यतित गरेका, निरन्तर राजनीतिमा लागेका उनले आफू वरिपरिका कति महिलामाथि यस्तो टिप्पणी गरेँ होलान्?

OOO

उनको व्यवहारले दिमाग रन्थनाइरहेको थियो। अफिस फर्कँदै गर्दा क्यामरा पर्सन दाइ अनुप घिमिरेले भन्नुभयो, ‘तीनले तपाईंलाई कसरी त्यस्तो भन्न सकेका होलान् है?’

मैले छोटो उत्तर दिएँ, ‘म त्यही सोचिरहेको छु। उनले के सोचेर त्यस्तो बोले?’

सधैँ ख्याल-ठट्टा गर्ने या नजिकको साथीबाट आउने यस्तो प्रतिक्रिया समेत स्वाभाविक मानिँदैन। उनी त मेरा लागि पूरै अपरिचित। मेरा लागि उनको परिचय एमालेबाट महानगरपालिकाका मेयरका उम्मेदवार मात्र त हो। उनको त्यो व्यवहारलाई स्वाभाविक रूपमा लिनै सकेन मेरो मनले।

कार्यालय आउनासाथ समाचार कक्षमा भएका साथीहरूसँग स्थापितले मेरो शरीर माथि गरेको टिप्पणी सुनाएँ। मैले अभिभावक मान्ने अन्य केहीलाई फोन गरेर पनि सुनाएँ।

समाचार कक्षमा रहेका सन्तोष धितालले भने, ‘झापड हान्नुपर्थ्यो नि। त्यति नगरी आउनुभयो?’

भिडियो एडिटर राजनले भने, ‘दिदीले केही प्रतिक्रिया जनाएको भए म पनि पिट्दिन्थेँ।’

बिस्तारै मैले नसुनाएका धेरैलाई यो विषय थाहा भइसकेको रहेछ। अनुप दाइ र राजन भाइले सुनाउनुभयो। नेपाल टेलिभिजनको समाचार कक्षमा केही दिन यसकै चर्चा चलिरह्यो।

टेलिभिजनमै काम गर्ने बहिनीले भनिन्, ‘यिनी मन्त्री भएको बेला, हेटौंडामा अन्तर्वार्ता लिन जाँदा मलाई अपर लिप्समा थ्रेडिङ गर्नु, जुँगा देखिएछ भनेका थिए।’

मैले सोधेँ, ‘तिमीले के भन्यौ त?’

उनले भनिन्, ‘के भन्नु र चुपचाप उठेर हिँडेँ।’

उनी पनि म जस्तै ठप्प भइन् होला।

निर्वाचनको समयमा म सकभर विवादमा आउन चाहन्नथें। तर दिन बित्दै जाँदा स्थापितले मेरो शरीरमाथि गरेको टिप्पणीले निरन्तर खेदिरह्यो ।

मैले सञ्चारिका समूह (जहाँ म केन्द्रीय सदस्य छु)ले आयोजना गरेको छलफलमा औपचारिक कार्यक्रम सकिएपछि शून्य समय भनेर स्थापितले ममाथि जनाएको प्रतिक्रिया सुनाएँ। केही साथीहरूले भने, ‘तिमीमाथि त यस्तो टिप्पणी गर्नेले अरूलाई के गरेँ होलान्। अहिलेसम्म किन बाहिर नल्याएको?’

म केही बोलिनँ। किनकी, म यो विषय बिर्सन चाहन्थें।

तर, जति पटक स्थापितलाई टेलिभिजनमा देख्छु, पत्रपत्रिकामा देख्छु, युट्युबमा देख्छु या सामाजिक सञ्जालका अन्य माध्यममा उनको नाम र फोटो देख्छु अनि झस्किरहने भएँ।

सार्वजनिक स्थलमा क्यामेरा पर्सन सहित गएकी पत्रकार ‘केटी’लाई त यति तुच्छ टिप्पणी गर्न सक्ने उनले अरूलाई के गर्छन् होला? राजनीतिमा उदाउँदै गरेका धेरै युवा(केटीहरू), धेरै मेहनत र लगनका साथ लोकसेवा पास गरेर कार्यालयमा काम गर्न आउने कर्मचारीहरू, विभिन्न सामाजिक क्षेत्रमा काम गरिरहेका महिलाहरू, सुरक्षाकर्मी, सफाइकर्मी, व्यापारी, उद्योगी जो स्थानीय तहमा प्रत्यक्ष सरोकार राख्छन् उनीहरू यदि स्थापितको वरिपरि पुगे भने के होला?

मैले जस्तै उनीहरूले आफ्नो मनलाई कति पटक थुमथुम्याउनु पर्छ होला? मनभित्र आगो बले पनि मुखबाट शब्द ननिकाली हिँड्नुपर्छ होला? घर, परिवार, छोरा-छोरी, समाज-संस्कारको सबै जिम्मेवारी पूरा गरेर हतार गर्दै कार्यालय पुगेका महिलाले उनको अगाडि पुग्दा कति पटक आफैंलाई मार्नुपर्छ होला?

दिमाग प्रश्नै प्रश्नले रिङ्ग्यायो।

महिला होस् या पुरुष सुन्दरता, दुब्लो पातलो, राम्रो नराम्रो भन्ने विषयमा निरन्तर टिप्पणी हुन्छ। छलफल हुन्छ। साथीहरूका बिचमा कति मोटाएको, दुब्लाएको, भुँडी लागेको, स्लिम भएको भन्ने कुरा हुन पनि सक्छन्। त्यसलाई कहिले स्वाभाविक रूपमा लिन सकिन्छ कहिले अस्वाभाविक। तर पहिलो पटक जिम्मेवारीको सिलसिलामा अनि सार्वजनिक पदमा जान्छु भनेर निर्वाचनमा होमिएकाले सार्वजनिक स्थानमा गरेको यस्तो टिप्पणीलाई कसरी सहज रूपमा लिने?

नेपालको कानुनले नै महिलाको पूरै शरीर त्यसरी नियालेर हेर्नु गैरकानुनी भन्छ नै, उनले प्रयोग गरेका शब्द बडिसेमिङ हो नै। सञ्चारकर्मसँगै कानुनको समेत अध्ययन गरेकी मलाई कतिबेर र किन चुप लागेर बस्नु भन्ने लाग्यो। मैले यसलाई सहज रूपमा लिन सकिनँ। अनि पाँच दिनपछि भए पनि सार्वजनिक गर्ने निर्णय गरें।

साभार: उकेरा

Loading
TOP