मूल्यवृद्धि गरेर सरकारले निर्वाचन खर्च उठायो– खड्का

मूल्यवृद्धि गरेर सरकारले निर्वाचन खर्च उठायो– खड्का

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ निरुपा खड्काले सरकारले पटक पटक मूल्यवृद्धि गरेर निर्वाचन खर्च उठाएको आरोप लगाएकी छिन् ।

मोरङको उर्लावारी नगरपालिकाको राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी अध्यक्षसमेत रहेकी उनले सरकार गलत बाटोमा हिँडेको टिप्पणी गरिन् । सरकारले गरेको मूल्यवृद्धिको विरोधमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले तत्काल मूल्यवृद्धि फिर्ता लिन र जनताको भावना अनुसार काम गर्न सरकारलाई आग्रह गरिन् । ‘भर्खरैमात्र निर्वाचन सम्पन्न भएको छ, निर्वाचन लगत्तै पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ, यो मान्दैनौं’ उनले भनिन् ‘ मूल्यवृद्धि नघटेसम्म राप्रपाले देशव्यापी रुपमा आन्दोलन चर्काउनुपर्छ ।’ उनले जनताको पक्षमा गरिएका आन्दोलनलाई सर्वसाधरणले पनि समर्थन गर्नुपर्ने बताइन् ।

पार्टीको उर्लावारी नगर समितिले आयोजना गरेको विरोध सभामा सहभागीहरुले मूल्यवृद्धि फिर्ता गर्, भ्रष्टाचारी सरकार मुर्दावाद, जनता मार्न पाइँदैनजस्ता नारा लगाएका थिए । ‘सरकार जनताको हुन सकेन, सरकारबाट जनताले सेवा पाउनुको सट्टा उल्टै दुःख पाएका छन्’ उनले भनिन् ‘ सरकार नसच्चिएसम्म र हाम्रो माग पूरा नभएसम्म आन्दोलन रोकिँदैन ।’ उनले कार्यक्रममा पार्टीबाहेकका मानिसहरु पनि सहभागी रहेको बताइन् ।

उनी हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा नगरपालिकाको उपमेयरको उम्मेदवार थिइन् । कार्यक्रममा उनीसहित पार्टीका केन्द्रीय सदस्य होमनाथ गौतमले पनि सम्बोधन गरेका थिए ।

Loading
TOP