चितवनमा ७५ आइसोलेसन वार्ड बनाइदैँ

चितवनमा ७५ आइसोलेसन वार्ड बनाइदैँ

४ चैत,  चितवन । यहाँ कोरोना भाइरसका शङ्कास्पद बिरामीलाई उपचार गर्न ७५ श्ययाको आइसोलेसन वार्ड बनाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालयले यहाँको ठूलो सरकारी अस्पताल भरतपुर अस्पताल र दुई मेडिकल कलेज एवं निजी अस्पतालमा ती वार्ड व्यवस्थापन गर्न लागेको जनाएको छ । 

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार भरतपुर अस्पतालमा हाल सञ्चालनमा रहेका १९ श्ययालाई थप गरी २० पुर्याइने, दुई  मेडिकल कलेजमा २०-२० श्ययाको छुट्टै कक्ष बनाइने र निजी अस्पतालमा १५ श्यया व्यवस्थापन गरिने छ ।  

जिल्लामा आएका शङ्कास्पद बिरामीलाई राख्नका क्वारेन्टाइन निर्माणका लागि स्थानको खोजी भइरहेको छ । उनले भने, “शङ्कास्पद बिरामीलाई राख्नका लागि क्वारेन्टाइन बनाउने ठाउँको खोजीमा छौँ । सम्भवतः छिट्टै टुङ्गिने छ ।” 

जिल्ला प्रशासन कार्यालयले सबै चनाखो भएर पूर्वतयारी गर्न आग्रहसमेत  गरेको छ । प्रशासनले जिल्लामा भित्रने नाकामा कडाइ गर्न लागेको छ । विदेशी नागरिक प्रवेश गर्न सक्ने नाका भरतपुर विमानस्थल, पर्साको ठोरी हु्ँदै माडी जोड्ने नाकामा जाँचको व्यवस्था मिलाइएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

सङ्क्रमण हुन नदिन र भइहालेमा आवश्यकतानुसार एम्बुलेन्स प्रयोग गर्न सक्ने गरी तयारी गरिएको, जनचेतनामूलक कार्यक्रम गर्न लगाइएको, सङ्घ, प्रदेश र स्थानीय तहसँग समन्वय भइरहेको जानकारी दिइएको थियो  । यस्तै स्वास्थ्यकर्मीलाई अत्यन्त जरुरी कामबाहेक बिदा नबस्न पत्राचार गरिएको, त्रास फैलाउने मनसायले सामाजिक सञ्जालमा सूचना

सम्प्रेषण गर्ने व्यक्तिलाई कारवाही अघि बढाइएको, पारिवारिक भेटघाटबाहेक अन्य जमघटका कार्यक्रम नगर्न निर्देशन दिइएको र कालोबजारी नियन्त्रणका लागि घोषित तथा अघोषित अनुगमनलाई तीव्र बनाइएको जानकारी दिइयो । 

बजारमा कृत्रिम अभाव सिर्जना गर्नेलाई शून्य सहिष्णुता अपनाएर कारवाही गरिने प्रशासनले जनाएको छ । बजारमा अहिले माक्सको अभाव भएको भए पनि यसलाई व्यवस्थित गर्नका लागि कार्यालयले सङ्घीय सरकारसँग आग्रह गरेको सो अवसरमा जानकारी दिइएको थियो । 

Loading
TOP