ब्यारेक भित्रै सशस्त्रका जवानद्वारा आत्महत्या

ब्यारेक भित्रै सशस्त्रका जवानद्वारा आत्महत्या

७ चैत्र,  बारा । सशस्त्र प्रहरीका एक जना जवानले ब्यारेक भित्रै आत्महत्या गरेका छन् । 

बाराको पथलैयास्थित सशस्त्र प्रहरी बल १७ नम्बर गुल्म राजश्व चुहावट नियन्त्रण कार्यालयमा कार्यरत सशस्त्र प्रहरी जवानले ब्यारेक भित्रै आत्महत्या गरेका हुन् ।

जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२ नरबस्ती घर भएका २७ वर्षिय बिमल भण्डारीले ब्यारेक भित्र रहेको सुरक्षा पोष्टमा झुण्डिएर आत्महत्या गरेका हुन् । 

ब्यारेकका सुरक्षाकर्मीले शुक्रवार बिहान भण्डारीलाई झुण्डिरहेको अवस्थामा देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । भण्डारी राती १० बजेसम्म राजमार्गको डिउटीमा खटिएका थिए । डिउटी सकेर ब्यारेक पसेका उनी रातीको समयमा झुण्डिएको हुन सक्ने गुल्मपति हरि श्रेष्ठले बताए ।

भण्डारीले सात वर्ष अघि सशस्त्र प्रहरीको सेवामा प्रवेश गरेका थिए । भण्डारीको बैशाखमा विवाह गर्ने तयारी समेत थालेको उनका पिता बाबुराम भण्डारीले जानकारी दिए । 

ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरिक्षक गोविन्द पुरीले भण्डारीको शवलाई पोष्टमार्टमका लागि बिरगंज पठाईएको बताए । शव परीक्षण पछि उनको शवलाई परिवारको जिम्मा लगाइने जानकारी दिए ।

Loading
TOP