लकडाउनमा पनि बैंक खुला राख्ने तयारी

लकडाउनमा पनि बैंक खुला राख्ने तयारी

११ चैत, काठमाडौं । सरकारले मंगलबारबाट एक हप्ताका लागि लगाएको लकडाउनमा पनि बैंक तथा वित्तीय संस्थाहरुले सेवा भने दिने भएका छन् । बैंकहरुलाई निश्चित शाखा तोकेर सेवा नियमित गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिने तयारी गरेको छ ।

खाद्यान्न, औषधी लगायतका सामाग्री खुल रहेका र ती वस्तुहरु खरिद गर्न रकम चाहिने भएकाले बैंकहरुलाई सेवा दिइरहन निर्देशन दिने तयारी गरिएको राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख देवकुमार ढकालले जानकारी दिए ।

उनले अत्यावश्यक सामाग्री खरिद गर्न सर्वसाधारणलाई अप्ठेरो नपरोस् भन्ने हिसाबले बैंकहरुले सेवा दिने बताए । तर सबै शाखा कार्यालयहरु भने खुला नहुने उनले बताए । उनका अनुसार नगद कारोबारको मात्रै बैंकले सेवा दिनेछन् ।

‘आज सार्वजनिक बिदा नै भयो, भोलि हामी निर्देशन दिन्छौं’ उनले भने, ‘नगद नै नभएर कसैलाई अप्ठेरो नपरोस् भन्ने चाहेका छौं, भोलि निश्चित समय तोकेर निश्चित काउन्टरहरु खोल्न भन्नेछौं ।’

कुन-कुन शाखा कार्यालयबाट, कति बजेदेखि कति बजेसम्म सेवा दिने भन्ने विषय बैंक आफैले निर्णय गर्ने र सम्बन्धी जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा शाखा खोल्नुपर्ने बताए ।

वाणिज्य बैंकका सीईओहरुको छाता संगठन नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले पनि बैंकहरुले सेवा दिइरहने बताएका छन् । सर्वसाधारणलाई नगदको अभाव हुन नदिन सेवा दिइरहने उनले बताए । यद्यपि, सकेसम्म विद्युतिय कारोबार गर्न उनले आग्रह गरेका छन् ।

Loading
TOP