नेपाली सेनाले स्वास्थ्य सामग्री खरिद प्रक्रिया शुरु गर्यो

नेपाली सेनाले स्वास्थ्य सामग्री खरिद प्रक्रिया शुरु गर्यो

२४ चैत,  काठमाडौँ । नेपाली सेनाले सरकारले प्रदान गरेको जिम्मेवारीअनुसार कोभिड–१९ को रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि आवश्यक पर्ने औषधि, उपकरण तथा अन्य सामग्री खरिद प्रक्रिया प्रचलित कानूनबमोजिम हुने र गुणस्तरमा कुनै सम्झौता नहुने स्पष्ट पारेको छ ।

नेपाल सरकारले यही चैत १६ गते मन्त्रिपरिषद्बाट कोरोना भाइरसको रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि आवश्यक सामग्री स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग समन्वय गरी आवश्यकताअनुसार रक्षा मन्त्रालयले नेपाली सेनामार्फत सरकार–सरकार (जिटुजी) विधिबाट खरिद गर्ने निर्णय गरेको थियो ।

सरकारको निर्णयपश्चात् नेपाली सेनाले आवश्यक प्रक्रिया द्रुत गतिमा अगाडि बढाएको सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले जानकारी दिए । उनले भने, “खरिद प्रक्रियाका दौरान विश्व स्वास्थ्य सङ्गठनद्वारा मान्यता प्राप्त सामग्री मात्र खरिद गरिने, मध्यस्तकर्ताको प्रयोग नगरिने, गुणस्तरमा कुनै सम्झौता नगरिने, प्रतिस्पर्धात्मक शैलीद्वारा मूल्य निर्धारण गरिने, सामग्री र यातायातको छुट्टाछुट्टै मूल्य निर्धारण गरिने र समय सीमाभित्र आपूर्तिकर्ताबाट आपूर्तिको व्यवस्था गरिने योजना रहेको छ ।”

सो प्रक्रियालाई सार्वजनिक खरीद ऐन तथा नियामावलीहरुको परिधिभित्र रही पारदर्शी र मितव्ययी ढङ्गबाट व्यवस्था गर्न सर्वपक्षीय औषधि, उपकरण तथा स्वास्थ्य सामग्री खरिद व्यवस्थापन समिति गठन गर्ने योजनाअनुसार कार्य अघि बढाइएको प्रवक्ता पाण्डेले जानकारी दिए । खरिद गरिने सामग्रीहरुको गुणस्तर निर्धारणका लागि विभिन्न मन्त्रालयका पदाधिकारीसहितको गुणस्तर नियन्त्रण समितिको गठन गरी कार्य सम्पादन गर्ने योजना रहेको सेनाले जनाएको छ ।

सेनाले नेपालको संविधान र प्रचलित ऐन, नियम तथा नेपाल सरकारबाट निर्दिष्ट जिम्मेवारीअनुरुप देश र जनताप्रति बफादार रही उच्च मनोबलका साथ विविध प्रकृतिका विपद् व्यवस्थापनको प्राथमिक दायित्व पूरा गर्दै आएको उनले बताए ।

“कोरोना भाइरसको सङ्क्रमण रोकथाम, नियन्त्रण र प्रतिकार्यमा सेनाले शुरुदेखि नै नेपाल सरकारको निर्देशनबमोजिम अग्रपङ्क्तिमा रही योगदान दिँदै आइरहेको छ । मित्रराष्ट्र चीनको वुहानबाट नेपाली विद्यार्थीहरुको उद्धार गरी क्वारेन्टाइनको व्यवस्थापन, प्रदेश तथा स्थानीय तहमा क्वारेन्टाइन र आइसोलेशन कक्ष निर्माण, कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर अपरेशन (सिसिएमसी–ओप्स) मा समेत महत्वपूर्ण भूमिका निभाउँदै आइरहेको जानकारी गराउँदछौँ”, प्रवक्ता पाण्डेले भने ।

नेपाल र नेपालीले व्यहोरेको हरेक विपत्तिहरुमा आमनागरिकका साथ र सहयोगमा नेपाल सरकारका सबै निकाय र सङ्घसंस्थाहरु तथा नागरिक समाजसँगको सहकार्यले यो राष्ट्रिय लडाइँ पनि जित्न सकिनेमा नेपाली सेनाको विश्वास रहेको उनले बताए ।

कोरोना भाइरस प्रतिकार्यलगायत आमनागरिकको स्वास्थ्य सुरक्षा तथा त्यससँग सम्बन्धित सबै विषयमा भविष्यमा समेत नेपाल सरकारले अङ्गीकार गर्ने सबै रणनीति तथा कार्यनीतिको कार्यान्वयनमा सेनाले आफ्नो सम्पूर्ण शक्ति र क्षमताले योगदान दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

Loading
TOP