क्वारेन्टाइनमा बसेकाले स्वाब अनिवार्य परीक्षण गर्नुपर्ने

क्वारेन्टाइनमा बसेकाले स्वाब अनिवार्य परीक्षण गर्नुपर्ने

२४ चैत,  काठमाडौं । कोरोना (कोभिड १९) भाइरस संक्रमण नियन्त्रण तथा रोकथाम समन्वय उच्चस्तरीय समितिले स्वास्थ्य सामग्री खरिद निजी र सरकारले दुवै प्रकारले गर्ने निर्णय गरेको छ ।

आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको उच्चस्तरीय समिति बैठकले स्वास्थ्य सामग्री निजी क्षेत्रबाट प्रतिस्पर्धामार्फत र सरकारले सोझै खरिद गर्ने गरि दुवै प्रकारले सँगसँगै गर्ने निर्णय गरेको हो । 

सार्वजनिक ऐन बमोजिम विशेष परिस्थितीमा विदेशी सरकारबाट सिधै खरिद गर्ने व्यवस्था अनुसार यस्तो निर्णय भएको प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले जानकारी दिए । 

समितिले अहिले निर्धारण गरिएका क्वारेन्टाइन र राहतको मापदण्डलाई परिमार्जन गर्ने निर्णयसमेत गरेको छ ।

त्यस्तै बैठकले संकटको अवस्थामा बिरामी रिसिभ गर्ने टिम (पीआरटी) को जिम्मा नेपाली सेना र स्वास्थ्यकर्मीको टिमलाई दिने निर्णयसमेत समितिले गरेको छ । 

त्यसैगरी समितिले १४ दिनसम्म क्वारेन्टाइनमा बसेकाको स्वाब परीक्षण भएपछि मात्रै घर जान दिने निर्णय गरेको छ । ‘परीक्षणमा कुनै बिरामी देखिए आइसोलेसनमा राख्ने’, सचिव विडारीले भने, ‘यो काम मुलुकभरका सबै क्वारेन्टाइनले फलो गर्नेछन् ।’

समितिले ग्रामीण स्वास्थ्य स्वयं सेवीकाहरुलाई उचित भत्ता र वीमाको व्यवस्था गरेर परिचालन गर्ने निर्णय गरेको छ । अहिले देशभर ग्रामीण स्वास्थ्य स्वयं सेवीकाको संख्या ५० हजारको हाराहारीमा रहेको बताइएको छ ।

Loading
TOP