बागलुङमा कोरोना फैलिएको आंशका !

बागलुङमा कोरोना फैलिएको आंशका !

२७ चैत, बागलुङ । नेपालमा कोभिड–१९ को पाँचौँ सङ्क्रमित भेटिएको बुधबार १३ दिन पुग्यो । यही चैत ४ गते बेल्जियमबाट आएकी बागलुङ नगरपालिका–४ की १९ वर्षीया ती युवती जिल्लाको भने पहिलो सङ्क्रमित हुन् ।

दुर्भाग्य, युवतीमा सङ्क्रमण देखिएको छ दिनपछि सोही नगरपालिका–३ की ६५ वर्षीया महिलामा पनि कोरोना सङ्क्रमण पुष्टि भयो । जुन नेपालको छैठौँ कोराना भाइरस सङ्क्रमणको घटना हो ।

एक साताको अन्तरमा भेटिएको यो सङ्क्रमण भने आयातित हो । बेल्जियमबाट दोहाहुँदै कतार एयरको क्यूआर ६५२ मा नेपाल आएका दुवैमा कोभिड–१९ को सङ्क्रमण फेला परेको हो । सोही विमानमा आएकी काठमाडौँकी युवतीमा कोरोना देखिएपछि बागलुङकी युवती र महिलामा कोरोना जाँच गरिएको थियो ।

भाग्यवस सङ्क्रमितसँगै एउटै विमानमा यात्रा गरेका बागलुङका अन्य दुई पुरुषमा भने कोराना भाइरस देखिएन । यतिमात्र होइन, सङ्क्रमित युवती र महिलाका परिवार तथा आफन्तमासमेत कोरोना भाइरस परीक्षण ‘नेगेटिभ’ आयो ।

जिल्लामा हालसम्म सम्भावित १८ जनामा कोरोना भाइरस जाँच गरिएकामा दुई जनामा मात्र सङ्क्रमण भेटिएको छ । बुधबार पनि थप १० जनाको ‘स्वाब’ परीक्षणका लागि पोखरा पठाइएको छ । न्यून परीक्षणकाबीच समुदायमा सङ्क्रमण फैलिने जोखिमबाट भने बागलुङ मुक्त छैन । सङ्क्रमित व्यक्तिका परिवार र भौतिक सम्पर्कमा आएका व्यक्तिमा कोरोना परीक्षण ‘नेगेटिभ’ आउनुलाई भने सुखद् मानिएको छ ।

यसबीचमा सरकारले सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी बागलुङमा दु्रत जाँच (र्यापिड टेस्ट) गर्ने निर्णय गरेको छ । यस्तो जाँचबाट समुदायमा सङ्क्रमणको अवस्था पत्ता लाग्ने विश्वास गरिएको छ । सरकारको यो निर्णय भएको पाँचौ दिन बुधबार स्वास्थ्य मन्त्रालयबाट प्राविधिक टोली आइपुगेको छ ।

स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बुधबार साँझ आवश्यक उपकरणसहित प्राविधिक टोली बागलुङ आइपुगेको र बिहीबार बिहान यसबारेमा स्वास्थ्यकर्मीहरुलाई तालीम पनि दिइसकिएको जानकारी दिए । “जिल्लाका स्वास्थ्यकर्मीहरुसँग अभिमुखीकरण बिहीबार बिहान सकिएको र यससँगै दुई जनाको जाँच पनि शुरु भएको छ”, उनले भने ।

पहिलो चरणमा सङ्क्रमित व्यक्तिको बसोबास क्षेत्र, आफन्त र विदेशबाट आएका गरी करिब एक हजारमा कोरोना भाइरस परीक्षण हुने जनाइएको छ । ‘किट’को माध्यमबाट छोटो समयमा धेरै व्यक्तिको जाँच गर्न सकिने प्रमुख गुरौको भनाई छ । अब यो प्रविधिको माध्यमबाट सरकारको निर्णय बमोजिम र्यापिड जाँचको काम अघि बढ्ने उनले जानकारी दिए ।

दु्रत जाँचका क्रममा परीक्षण ‘पोजेटिभ’ आएमा थप पुष्टिको लागि सङ्कलित नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइने छ । चैत लागेपछि विदेशबाट झण्डै ९ सय जना जिल्ला भित्रिएका छन् । तीमध्ये न्यून सङ्ख्यामा मात्र ‘क्वारेन्टाइन’मा बसेका छन् । अधिकांश भने घरमै छन् । तर स्थानीय प्रतिनिधि तथा स्वास्थ्यर्मीहरुले यसरी घरैमा बसेकालाई पनि एकान्तबासमा बस्न र आफ्ना परिवार तथा समुदायमा भौतिक रुपमा नजिक नभइदिएर सावधानी अपनाउन अनुरोध गरिरहेका छन् ।

यस्तो छ अस्पतालको तयारी

सरकारले सदरमुकाममा रहेको धवलागिरि अञ्चल अस्पताललाई कोभिड–१९ को उपचार हुने अस्पतालका रुपमा किटान गरेको छ । जिल्लाका दुई सङ्क्रमित यही अस्पतालममा उपचाररत छन् । कोरोनाको कहर शुरु भएपछि वर्षौँसम्म अलपत्र परेको सघन उपचार कक्ष (आइसीयू) निर्माणको कामले गति लिएको छ ।

कोरोना भाइरसका कारण जटिल अवस्थामा पुगेका बिरामीलाई ‘आईसियू’मा राखेर उपचार गर्नुपर्ने हुन्छ । कोरोना सङ्क्रमितलाई नै उपचार गर्नुपर्ने अवस्था आएपछि अस्पतालमा ‘आइसियू’ सञ्चालनका लागि मन्त्रालय र सम्बन्धित निकाय पनि दबावमा परेका थिए ।

अस्पताल विकास समितिका अध्यक्ष केवी रानामगरले ‘आइसीयू’का लागि चाहिने उपकरण र सामग्री खरिदका लागि मङ्गलबार बोलपत्र आह्वान गरिएको बताए । “प्रकृया अगाडि बढीसक्यो, अब संरचना निर्माणलगायतको काम तत्कालै शुरु हुन्छ”, उनले भने, “यथाशक्य छिटो सेवा शुरु गर्छौँ ।”

सरकारले उक्त कामका लागि रु एक करोड बजेट छुट्याइएको अध्यक्ष रानाले बताए । गण्डकी प्रदेश सरकारले पनि ‘भेण्टिलेटर’ लगायतका स्वास्थ्य उपकरण र सामग्री अस्पताललाई उपलब्ध गराएको छ । अस्पतालका प्रमुख चिकित्सक शैलैन्द्र बि पोखरेलले अस्पतालमा हाल चार वटा ‘आइसोलेटेड बेड’ रहेको जानकारी दिए ।

तीमध्ये दुईमा कोभिड–१९ का बिरामी उपचाररत छन् । अवस्था हेरेर ‘आइसोलेटेड बेड’ थप्ने योजनामा अस्पताल छ । प्रमुख चिकित्सक पोखरेलले ‘आइसीयू’ सेवादिन दक्ष जनशक्तिको खाँचो औँल्याए । अस्पताल व्यवस्थापन समितिले दक्ष जनशक्ति र उपकरण व्यवस्थापनमा सरकारले ध्यान दिनुपर्ने बताएको छ ।

कोरोना सङ्क्रमितको जाँच र उपचारमा खटिने स्वास्थ्यकर्मीले यथेष्ठ तालीम र सुरक्षा सामग्री उपलब्ध गराउनुपर्ने माग गर्दै आएका छन् । धवलागिरि अञ्चल अस्पताल कोभिड–१९ का बिरामी उपचार गर्ने तेस्रो अस्पताल हो । यसबाहेक काठमाडौँको टेकु र धनगढीको सेती प्रादेशिक अस्पतालमा उक्त रोगका बिरामी उपचाररत छन् ।

विदेशबाट आएका निगरानीमा

प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सङ्कट व्यवस्थापन समितिका संयोजक गौलोचन सैँजूले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सबै पक्षसँग समन्वय र सहकार्य भइरहेको बताए । उनले ‘लकडाउन’ पालनादेखि सचेतनाका कार्यक्रम प्रभावकारी बन्दै गएको उल्लेख गरे ।

“शुरुका दिनमा भन्दा नागरिकहरु पनि सचेत भएको अवस्था छ, लकडाउनलाई थप कडा तुल्याएका छौँ”, प्रजिअ सैँजूले भने । देशभरमै पहिचान भएका नौमध्ये दुई सङ्क्रमित बागलुङमै भेटिएपछि उच्च सतर्कता र निगरानी बढाइएको उनको भनाइ छ ।

उनले अस्पताल र स्वास्थ्यकर्मीले कोरोना विरुद्धको लडाईँमा अग्रभागमा रहेर खेलेको भूमिकाको प्रसंशा समेत गरे । सुरक्षा प्रबन्ध र अन्य समन्वयकारी काममा स्थानीय प्रशासन सँधै साथ रहेको उनको भनाई छ । ‘जिल्ला कमाण्ड पोष्ट’कोसमेत नेतृत्व सम्हाल्नुभएका सैँजूले विदेशबाट जिल्ला भित्रिएका सबैलाई निगरानीमा राखिएको बताए ।

“अहिलेसम्मको तथ्याङ्क अनुसार विदेशबाट जिल्ला भित्रिने ७ सय ७८ जना रहेको पाइएको छ, उहाँहरु सबैलाई घरमै एकान्तवास (होम क्वारेन्टाइन) मा बस्न अनुरोध गरेका छौँ”, प्रजिअ सैँजूले भने । उनका अनुसार विदेशबाट आएका कतिपय व्यक्ति स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा बसेका छन् ।

क्वारेन्टाइनमा बसेका सबैको नियमित रुपमा स्वास्थ्य अवस्थाबारे जानकारी लिने र सुझाव दिने काम भइरहेको जिल्ला सङ्कटन व्यवस्थापन समितिले जनाएको छ । कोरोना फैलिएका देशबाट आएका सबैलाई क्वारेन्टाइनमा राख्न नसकिएपछि निगरानी भने गरिएको समितिको जिकिर छ । विदेशबाट आएका जो कोहीमा पनि कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिए तत्काल जाँच गर्ने गरिएको छ ।

Loading
TOP