राजविराजमा गुप्त दानमार्फत राहत वितरण

राजविराजमा गुप्त दानमार्फत राहत वितरण

३० चैत,  राजविराज । वास्तविक अति गरिब, मजदुर र नागरिकता नभएका परिवारले राहत पाउन नसक्दा यहाँ गुप्तदान गरिएको छ । सरकारले नागरिकता नभएकालाई राहत नदिने भएपछि राजविराजस्थित गजेन्द्रचोकमा स्थानीयवासी शेरू खानले गुप्तदान गर्न लाग्नुभएको हो ।

स्थानीय सरकारले स्थानीयवासीलाई मात्र राहत उपलब्ध गराउने व्यवस्था मिलाएपछि अहिले सोही स्थानमा बसोबास गर्ने नागरिकताविहीन तथा अन्य बाहिरी व्यक्ति दैनिक मजदुरी गर्ने, गरिबलगायत सो राहत पाउनबाट वञ्चित हुनुपरेको छ । सोही कुरालाई मध्यनजर गर्दै राजविराजका स्थानीय चस्मा व्यवसायी शेरु खान र किराना व्यवसायी अमृत संचेतीको पहलमा वास्तविक अतिगरिब, मजदुर र नागरिकता नभएका परिवारका लागि गुप्त दानमार्फत राहत वितरण गरिएको छ ।

राजविराजस्थित गजेन्द्रचोकमा १२ किलो चामल, दुई किलो दाल, दुई किलो आलु, एक लिटर खानेतेल र एक किलो नुन भएको पोका बनाएर वरिपरि राखिएको थियो । गजेन्द्रचोकमा १८ जनाका लागि पोका बनाएर राखेको अवस्थामा नागरिकता नभएका र अतिगरिब जसले खान नपुगेकालाई गुप्तदानबाट गर्न लागेको खानले बताउनुभयो ।

यस कार्यमा सम्पूर्ण नगरवासी तथा सम्पन्न परिवारले आफैँ गजेन्द्रचोकमा खाद्यान्न सामग्रीको पोका बनाएर राखी आफैँ आएर गुप्तदान गर्न उहाँले आग्रह गर्नुभयो । शनिबार गजेन्द्रचोकबाट गरिब २५ परिवारले उक्त सामग्रीको पोका उठाएको छ ।

चस्मा व्यवसायी खानले आफूले गरेको पहलका कारण दर्जनौँ घरमा चुलो बल्ने र उनीहरुका परिवार भोकभोकै नबस्ने बताउँदै सम्पूर्ण नगरवासी तथा सम्पन्न परिवारलाई आफँै गजेन्द्रचोकमा पोको बनाएर राखी गुप्त दान गर्न आग्रह समेत गर्नुभयो ।

Loading
TOP