घरमा आमा बितिन्, किरिया महाकालीपारि क्वारेन्टाइनमै

घरमा आमा बितिन्, किरिया महाकालीपारि क्वारेन्टाइनमै

४ वैशाख, दार्चुला । मङ्गलबार साँझ घरमा आमा बितेपछि शैल्यशिखर नगरपालिका–१ जोगउडाका ३५ वर्षीय वासुदेव भट्ट महाकालीपारि बालुवाकोटको क्वारेन्टाइनमा किरिया बसेका छन् ।

बैसठ्ठी वर्षीया आमा गौमतीको घरमा निधन हुँदा पनि उनले भारतीय क्वारेन्टाइनबाट नेपाल आफ्नो जन्मभूमि घर आउन नपाउँदा कालीपारि कै क्वारेन्टाइनमा किरिया बस्नुपरेको हो ।

तीन महिनाअघि भारतमा मजदूरी गर्न गएका भट्ट लकडाउनपछि घर आउँदा धार्चुलामा अलपत्र परेका थिए । लकडाउन, आइसोलेसन, क्वारेन्टाइन, सामाजिक दूरी कहिल्यै नसुनेका भट्टले यिनै शब्दका कारण आमाको निधन हुँदा पनि घर आउन पाएनन् । 

“मजदूरीकै लागि भारतका काला पहाड गएका हुन्”, उनका कान्छा भाइ सुनिलले भने, “चार भाइमध्ये एक्लै घरमा छु । नयाँ वर्षका लागि घर आउने भनेर तीनै जना दाइ भारतमै मजदूरी गर्न गएका थिए । दुई दाइ घर आएनन्, वासुदेव घर आउँदा धार्चुलामा अड्कियो ।” 

विसु पर्व मनाउन एकसरो लुगाका लागि धन कमाउन गएका दाजु आमाको किरिया गर्न पनि स्वदेश आउन नपाउँदा भाइ सुनिल एक्लै किरिया बसेका छन् । 

विश्वभर महामारीको रूपमा फैलिएको कोराना भाइरसका कारण वासुदेव पनि घर आउन खोजेका थिए तर आउँदाआउँदै नेपाल–भारत दुवैतर्फ लकडाउन भयो । आफ्नो देश आउने प्रवेशद्वारमा ताला लाग्यो । वासुदेवले भने, “अहिले आमाको ज्यान जाँदा पनि घर आउन नपाउँदा क्वारेन्टाइनमै किरिया बसेको छु ।”

“ठेकेदारले समयमै काम गरेबापतको ज्याला नदिँदा आउन ढिला भयो, आफ्नै देश फर्किएर विसु मनाउने सपना थियो”, उनले भने, “विसुमा आमा गौमति र बुवा खेट्टेलाई भेट्ने सपना थियो । देश फर्किएर आमा बुबासँगै नयाँ वर्ष मनाउने सपनामा ब्रजपात भयो ।”

सयौँ नेपालीसँगै वासुदेव पनि धार्चुला पुगेका थिए । “तीन दिनसम्म आफ्नो देश आउन नपाएपछि नाराबाजी समेत गर्यौँ”, उनले भने, “तर महाकालीमाथिको पुलमा बसेका सुरक्षाकर्मीले गेट खोल्दै खोलेनन् । पाँच दिन भारतीय गौशालामा बास भयो, केहीले ज्यानको बाजी लगाएर महाकालीमा हाम हाम्रै आँखा अगाडि फाल हाने । हामी भने महाकालीमा ज्यानको बाजी लगाउन पाएनौँ ।”

वासुदेव जिन्दगीमा पहिलो पटक सुनेको क्वारेन्टाइनमा २० दिनदेखि बसेका छन् । क्वारेन्टाइनमा उनी जस्ता एक हजार भन्दा बढी नेपाली धार्चुलामा बसेका छन् ।

आँगनमै आएर पनि आफ्नो देश आउन नपाएका उनी दिनदिनै फोनमा परिवारसँग कुरा गर्थे । लकडाउन कहिले खुल्ने हो ? लकडाउन नगरे के हुन्छ भन्ने खासै मेसो नपाएकी उनका आमासँग पनि दुई दिनअघि मात्र फोन भएको थियो । “मङ्गलबार साँझ घरबाट फोन आयो, फोन सामान्य थिएन, सोचेँ आमाले गर्नुभएको होला”, वासुदेवले भने, “भाइको रुँदै फोन आयो । आमा बित्नुभयो ।”

देश फर्किन नपाएको उनको मनको घाउमाथि फोनबाट आएको खबरले नुनचुक छर्कियो । “आमा सम्झिएँ, मन भरिएर आयो”, उहाँ भक्कानिनु भयो । उहाँका भाइ लोकेन्द्र भारतकै बेङ्गलोरमा र अर्का भाइ माधव दिल्लीमा छन् । भाइहरु पनि गाउँ पुगेका छैनन् । एक्ला भाइ घरमा छन् ।

आमाको मृत्युपछि घर आउँछु भन्दै नेता प्रशासकलाई फोन गरे पनि उनी घर आउन सकेनन् । अन्ततः उनी साथीभाइको सहयोगमा क्वारेन्टाइनमा सेतो लुगा लगाएर किरिया बस्न बाध्य भए ।

७२ किलोमिटर टाढा रहेका वासुदेवले आमाको सत्गति गर्न घर पुग्न नपाएपछि अरु नेपाली पनि निराश छन् । शैल्यशिखर नगरपालिका–१ को कार्यालयले वासुदेवलाई आमाको मृत्युपछि गरिने किरियाको आवश्यक काम गर्न बन्दोबस्ती मिलाइदिन जिल्ला प्रशासन कार्यालयलाई आग्रह गर्दै पत्राचार गरेको छ ।

वडाअध्यक्ष भरतबहादुर खडायतले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्राचार गर्दै मृत्युपछि गरिने कार्यका लागि आवश्यक समन्वय गरिदिन आग्रह गरेका हुन् । दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल वडा कार्यालयबाट आएको पत्रको आधारमा भारतीय प्रशासनसँग पहल गरिएको बताउछन् । “हामीले आवश्यक समन्वयका लागि पत्र पठाएका छौँ”, उनले भने ।

Loading
TOP