पत्रकारका समस्यामा प्रेस युनियन काठमाडौंको सहयोग

पत्रकारका समस्यामा प्रेस युनियन काठमाडौंको सहयोग

काठमाडौं । नेपाल प्रेस युनियन काठमाडौं शाखाले विभिन्न सञ्चारगृहमा कार्यरत पत्रकार र कयामेराम्यानहरुका लागि मास्क र प्रेस ज्याकेट उपलब्ध गराएको छ । शनिबार सञ्चारगृहमै पुगेर शाखाका अध्यक्ष जगन्नाथ दुलालले सो सामाग्री हस्तान्तरण गरेका हुन् । विशेषगरि रिपोर्टिङमा जाँदा टेलिभिजनका क्यामेरापर्सन र फोटो पत्रकार बढी जोखिममा रहेको भन्दै शाखाले विशेष प्रकारको मास्क उपलब्ध गराएको हो ।

एपीवान टेलिभिजन,प्राइम टिभी, एभिन्यूज टेलिभिजन,योहो टिभी,सरोकार टेलिभिजनमा मास्क उपलब्ध गराइएको हो । त्यस्तै, विभिन्न दैनिक पत्रिकामा कार्यरत फोटोग्राफरका लागि पनि प्रेस युनियनले मास्क र प्रेस ज्याकेट उपलब्ध गराएको अध्यक्ष जगन्नाथ दुलालले जानकारी दिए । नेपाली जनसम्पर्क समिति जर्मनीले कांग्रेस नेता प्रकाशमान सिंहमार्फत प्रेस युनियन काठमाडौं शाखालाई उपलब्ध गराएको हो ।

“यो प्रतिकूल अवस्थामा सहयोग गर्ने जनसम्पर्क समिति जर्मनी र माननीय प्रकाशमान सिंहप्रति यो सहयोगका लागि काठमाडौं प्रेस युनियन आभार व्यत्तः गर्दछ,’ अध्यक्ष दुलालले भने, “जे सकिन्छ हामीले हाम्रोतर्फबाट सञ्चारकर्मीहरुका लागि सहयोग गर्ने प्रयास गरेका छौं । पर्याप्त नभएपनि यसले धेर थोर सहयोग पुग्ने हाम्रो विश्वास छ ।’

प्रेस युनियन काठमाडौं शाखाका निवर्तमान अध्यक्ष नकुल अर्यालले विगतमा भूकम्पको समयमा पनि सञ्चारकर्मीलाई प्रेस युनियन काठमाडौं शाखाले पावरब्यांक, पेनड्राइभ र रिचार्ज कार्ड उपलब्ध गराएको स्मरण गर्दै पत्रकारको समस्यामा सहयोग गर्नु नै प्रेस सम्बद्ध संस्थाको दायित्व भएको बताए ।

अहिलेको संकटपूर्ण अवस्थामा पनि कार्यालयमै आएर सहयोगप्रति एपीवान टिभिका सम्पादक टिकाराम यात्री, प्राइम टिभिका रिसि धमला र योहो टीभीका अध्यक्ष आङकाजी शेर्पाले आभार व्यत्तः गरेका थिए । युनियनले यसअघि पनि एक सय थान प्रेस ज्याकेट र ३८ जना सञ्चारकर्मीलाई खाद्यानन सहयोग गरेको थियो ।

Loading
TOP