उदयपुरमा कम्युनिटी संक्रमणको आशंका

उदयपुरमा कम्युनिटी संक्रमणको आशंका

१० बैशाख,  काठमाडौँ । उदयपुरको त्रियुगा नगरपालिका–३, भुल्केस्थित मस्जिद आसपासका थप आठ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण भएको प्रारम्भिक नतिजा आएपछि उनीहरूलाई थप परीक्षण र उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।

मस्जिदमा बसेका १३ जनामा कोरोना सङ्क्रमण पाइएपछि उनीहरूसँग नियमित सम्पर्कमा रहेका मुस्लिम समुदायका ५३ घरका बासिन्दाको स्वाब सङ्कलन गरिएको थियो ।

प्रदेश १ स्थित विराटनगर प्रयोगशालाका निर्देशक नेतृत्वको प्राविधिक टोली भुल्के आएर यही शनिबार स्वाबको नमुना सङ्कलन गरेको थियो  ।

पहिलो चरणमा परिवारका मुख्य व्यक्ति र सङ्क्रमितसँग प्रत्यक्ष सम्पर्कमा रहेका ६९ जना स्थानीयवासीको नमुना सङ्कलन गरी विराटनगरस्थित प्रादेशिक अस्पतालको ल्याबमा पीसीआर परीक्षण गरिएकोमा एकै परिवारका चारसहित आठजना पुरुषको नतिजा पोजेटिभ पाइएपछि थप परीक्षण तथा उपचार व्यवस्था गर्न धरान लगिएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशनअनुसार सङ्क्रमितहरूलाई थप परीक्षणका लागि तत्कालै दुईवटा एम्बुलेन्समार्फत धरान पठाइएको जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहनप्रसाद सुवेदीले जानकारी दिए । नमुना लिइएका अन्य ६१ जनाको नजिता भने आइनसकेको उनले बताएका छन् ।

सिंगो भुल्के गाउँ नै कोरोनाको उच्च जोखिममा परेको भन्दै स्थानीयवासीले नमुना परीक्षणलाई व्यापक बनाएर अभियानकै रूपमा सञ्चालन गर्न र करिब एक महिनादेखिको लामो बन्दाबन्दीको मारमा परेका स्थानीयवासीलाई राहत वितरणको माग गरेका छन् ।

मंगलबार एकैदिन ११ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै यहाँ संक्रमितको संख्या २४ पुगेको छ । उनीहरू सबै त्रियुगा नगरपालिका–३ भुल्केस्थित नुरी मस्जिदमा बसेका भारतीय र आसपासका बासिन्दा हुन् ।

भुल्केमा दुई जना विदेशबाट आएका युवक पनि रहेको खुलेको छ। मस्जिदमा जानेआउने गरेकाले उनीहरूबाट सरेको हो कि भन्ने आशंकामा अनुसन्धानसमेत भइरहेको प्रहरीले जनाएको छ । ती युवक पनि मंगलबार संक्रमण पुष्टि भएकामै पर्छन् । उनीहरूमध्ये १ जना यूएईको दुबई र अर्का भारतको दिल्लीबाट आएको बताइएको छ ।

स्थानीयहरूका अनुसार सङ्क्रमितहरूले सर्वसाधारणसँगै बसेर कैयौंपटक बिहान बेलुका नजिकैको चिया पसलमा नियमित चिया पिउने गरेको बताएका छन् । उनीहरुले पसलहरूमा सामान किन्ने र तरकारी किनबेच गर्ने गरेको बताएपछि अब अन्यमा पनि संक्रमण फैलिएको आशंका गरिएको छ । यस घटनाले उदयपुरमा कम्युनिटी संक्रमण भएको देखिएको छ ।

Loading
TOP