लोकतन्त्र विरुद्ध षड्यन्त्र भइरहेको छ : कांग्रेस नेता प्रकाशमान सिंह

लोकतन्त्र विरुद्ध षड्यन्त्र भइरहेको छ : कांग्रेस नेता प्रकाशमान सिंह

११ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले नेपाल आमाविरुद्ध भइरहेका षड्यन्त्र परास्त गरी मुलुकलाई लोकतान्त्रिक बाटोमा अघि बढाउनुपर्नेमा जोड दिएका छन् । मातातीर्थ औंसी र लोकतन्त्र दिवसको सन्दर्भमा सन्देश जारी गर्दै , प्रतिनिधिसभाका सदस्य समेत रहनुभएका नेता सिंहले लोकतन्त्र जनताले लडेर ल्याएको उपलब्धी भएका कारण यसकोे रक्षाका लागि नेपाल आमाका सन्तानहरुले जस्तोसुकै कठिन परिस्थितिमा पनि अग्रसरता लिनुपर्ने बताएका हुन् । सन्देशमार्फत नेता सिंहले लोकतन्त्र र नेपाल आमाको रक्षाका लागि आफू सधैं सक्रिय रहने प्रण गरेका छन् ।

प्रकाशमान सिंहको सन्देश :
आज यस धर्तीमा जन्म दिने आमाको मुख हेर्ने दिन अनि नेपाली जनताको जित भएको दिन । मुलुकमा नागरिक सर्वोच्चता कायम भएको महत्वपूर्ण दिन ।

मानव जीवनको चोला सार्थक बनाउनु छ । नेपाल देश पनि आमा हुन् । संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु अनि विभिन्न बहानामा प्रकट हुँदै आएका प्रहारबाट नेपाल आमालाई बचाउनु पर्ने महत्वपूर्ण जिम्मेवारी छ ।

जनअपेक्षा अनुरुपको नागरिक सर्वोच्चता कायम गराउनु, सबैखाले अतिवादबाट नागरिक सर्वोच्चतालाई जोगाउँदै सम्वृद्धिको यात्रामा डोराउनु पर्ने दायित्व छ । हालसम्मका उपलब्धीको रक्षा गर्दै, यो या त्यो बहानामा प्रकट भएका सर्वसत्तावाद र अधिनायकवादबाट बचाउन म संघर्ष गरिरहने छु ।

सम्पूर्ण जनसमुदायलाई पनि नेपाल आमाविरुद्धका प्रहारबाट जोगाउन आ-आफ्नो ठाउँबाट पहल गर्न आज फेरि पनि हार्दिक अपिल गर्दछु । हामीले गर्न अझै धेरै बाँकी छ । अमूल्य जीवनलाई सार्थक तुल्याउनु छ ।

यति बेला जनजीवन कोरोना भाइरस संक्रमणको कारण अस्तव्यस्त छ । मलाई थाहा छ तपाईं हामी सबैको दैनिकी सहज छैन । यस्तो विषम परिस्थितिमा जनजीवन सम्बोधन गर्नुभन्दा सरकार अधिनायकवाद उन्मुख हुँदैछ । तपाईं हामी झनै चनाखो बन्दै यो विपत्तिबाट नेपाल आमालाई जोगाउनु छ । आउनुहोस् सबैखाले अतिवाद, निरंकुश शैलीको मिलेर सामना गरौं र यो मातृभूमीको रक्षा गरौं । बाचौं र बचाऔं ।

मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन र लोकतन्त्र दिवसको अवसरमा सबै नेपाली दाजुभाइ, दिदी बहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । जीवन बलिदान गर्ने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुप्रति हार्दिक श्रद्धा सुमन व्यक्त गर्दछु ।

जय नेपाल ।

प्रकाशमान सिंह – नेपाली कांग्रेस

Loading
TOP