गोरखा भूकम्पको पाँच वर्ष पूरा, पुनःनिर्माणमा ८८ प्रतिशत प्रगति

गोरखा भूकम्पको पाँच वर्ष पूरा, पुनःनिर्माणमा ८८ प्रतिशत प्रगति

१२ बैशाख, काठमाडौँ । गोरखा भूकम्पको पाँच वर्ष पूरा भएको छ । भूकम्पको पाँचौँ स्मृति दिवस आज मनाइँदैछ । विसं २०७२ वैशाख १२ गते मध्याह्न ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भई गएको ७।६ रेक्टर स्केलको भूकम्पका कारण आठ लाखभन्दा बढी निजी आवास भत्केका थिए । करिब नौ हजार मानिसले ज्यान गुमाएका थिए । करिब २२ हजार मानिस घाइते भएका थिए भने लाखौँ मानिस घरबाट खुला आकाशमुनि बस्न बाध्य भएका थिए ।

भूकम्पले गोरखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभे्रपलाञ्चोक, भक्तपुर, काठमाडौँ, ललितपुर र मकवानपुर गरी १४ जिल्लामा धेरै क्षति भएको थियो । यी जिल्लालाई सरकारले अति प्रभावित भनी परिभाषित गरेको छ । यीमध्ये पनि सिन्धुपाल्चोक सबैभन्दा बढी प्रभावित भएको थियो । भूकम्पले मृत्युवरण गरेकामध्ये आधाभन्दा बढी सिन्धुपाल्चोकका थिए । अन्य १८ जिल्लामा कम प्रभावितमा परेका थिए । भूकम्पबाट ३२ जिल्ला प्रभावित भएका थिए ।

भूकम्पले सात हजार ५५३ विद्यालय, ९२० सांस्कृतिक सम्पदा, एक हजार १९७ स्वास्थ्य संस्था, ४१५ सरकारी भवन, सुरक्षा निकायका १९४ संरचना, ७६२ किमी सडक संरचना र एक हजारभन्दा बढी खानेपानी संरचनामा क्षति पुगेको थियो । भूकम्पपछिको पुनःनिर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापना भएको छ ।

हालसम्म पुनःनिर्माणमा ८८ प्रतिशत प्रगति भएको प्राधिकरणले जनाएको छ । पुनःनिर्माणका क्रममा हालसम्म सरकार र दातृ निकायबाट रु तीन खर्ब नौ अर्ब र गैरसरकारी संस्थामार्फत् रु ७२ अर्ब गरी रु तीन खर्ब ८१ अर्ब खर्च भएको छ । धेरै क्षेत्रबाट प्राप्त सहयोग र सद्भावले गर्दा नै पुनःनिर्माण एवं पुनःस्थापनाबारे आत्मविश्वास र गौरवका साथ प्राप्त उपलब्धि, अनुभव एवं सिकाइलाई विश्वसामु राख्ने तहमा आइपुगेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताउनुभयो ।

Loading
TOP