२०२० मा होटल उद्योगको ९० प्रतिशत आम्दानी घट्ने

२०२० मा होटल उद्योगको ९० प्रतिशत आम्दानी घट्ने

१२ बैशाख, काठमाडौं । कोभिड–१९ को महामारीले नेपाली अर्थतन्त्रको महत्वपूर्ण आधार पर्यटन क्षेत्रलाई नराम्ररी असर पारेको छ ।
पर्यटन क्षेत्रमा वायुसेवा कम्पनीको व्यवसायका साथै सबैभन्दा बढी होटल उद्योग मारमा परेको व्यावसायिक संस्थाले जनाएका छन् । होटल व्यवसायीको छाता सङ्गठन होटल एशोसिएसन अफ नेपाल ९हान० ले कोभिड–१९ का कारण सन् २०२० मा होटल उद्योगमा ९० प्रतिशत आम्दानी घट्ने प्रक्षेपण गरेको छ ।

हानको अध्ययन अनुसार कोभिडको प्रभावले उद्योग नै धरासायी अवस्थामा पुग्ने अवस्था सिर्जना हुनसक्ने खतरा औँल्याउँदै तत्काल विशेष नीति अख्तियार गर्न सरकारसमक्ष अनुरोध गरेको छ । “कोभिड‐१९ को महामारी नियन्त्रणका लागि सरकारले चालेका कदमप्रति ऐक्यबद्धता व्यक्त गर्दै विषम स्थितिमा होटल उद्योगको संरक्षण गर्ने विशेष नीति तत्काल अख्तियार गर्न अनुरोध गर्दछौँ”, हानले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

हानले उद्योग पूर्णरूपमा पुनःस्थापना नभएसम्म जनशक्ति व्यवस्थापन, बैंकको ऋण, घरभाडा व्यवस्थापन, विद्युत् महसुल, स्थानीय सरकारको सम्पत्ति करलगायतको उचित व्यवस्थापनलाई मध्यनजर गर्दै नीति निर्माण गर्न पनि अनुरोध गरेको छ ।

श्रम ऐन र नियमभन्दा ‘बाँच्ने र बचाउने’ मूल नारा लिएर विशेष नीति ल्याउन सरकारलाई अनुरोध गरिएको छ । सन् २०१९ को तुलनामा सन् २०२० मा होटल उद्योगबाट हुँदै आएको कूल आम्दानी १० प्रतिशतभन्दा कम हुने आँकलन गर्दै हानले होटल उद्योगले यो वर्ष खर्च धान्नै नसक्ने जनाएको छ ।

Loading
TOP