सांसद अपहरणका दोषीलाई कारबाही गर्न कांग्रेसको माग

सांसद अपहरणका दोषीलाई कारबाही गर्न कांग्रेसको माग

१२ वैशाख,  काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा जारी अध्यादेश फिर्ता हुँदैमा अध्यादेशले प्रेरित गरेको अपराधलाई कानुनी उन्मुक्ति हुन नहुने बताएको छ ।

कांग्रेसले अध्यादेश फिर्ता भए पनि अपहरणको शैलीमा समाजवादी पार्टीका सांसद डा. सुरेश यादवलाई काठमाडौं ल्याइएको घटनाका दोषीलाई उन्मुक्ति दिन नमिल्ने जिकिर गरेको छ । प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार दिउँसो विज्ञप्ति जारी गरेर सांसद यादवलाई काठमाडौं ल्याइएको घटनालाई हस्तक्षेपमुक्त गहिरो अनुसन्धान गरेर संलग्नलाई इमानदार कानुनी कारबाहीको माग गरेका छन् ।

प्रेस विज्ञप्तिको पूर्ण पाठ
अध्यादेश फिर्ता हुँदैमा यसले प्रेरित गरेको अपराधलाई कानुनी उन्मुक्ति हुनुहुन्न

चौतर्फी विरोधपछि दुवै अध्यादेश फिर्ता लिन सरकार बाध्य भयो । नेपाली कांग्रेस विविध ढंगले स्वदेश र विदेशमा विरोध प्रकट गर्ने युवा विद्यार्थी, पार्टीका साथीहरू, अन्य दल तथा सञ्चार माध्यमलाई बधाई ज्ञापन गर्दै सरकारको नियोजित नियत प्रष्ट भइसकेको स्थितिमा निरन्तर सतर्कता र एकताका लागि अपिल गर्दछ ।

अध्यादेश फिर्ता भए पनि यो प्रकरणसँग गाँसिएको अपहरणको शैलीमा समाजवादी पार्टीका एक सांसदलाई काठमाडौं ल्याइएको घटनाका दोषीलाई ‘बालुवाटारको जग्गा फिर्ता गर्दा माफी दिइएको’ शैलीमा झैं विवादास्पद ढंगले उन्मुक्ति दिन मिल्दैन । नेपाली कांग्रेस यो गम्भीर प्रश्नमा हस्तक्षेपमुक्त गहिरो अनुसन्धान र जो कोहीको संलग्नता रहे पनि इमानदार कानुनी कारबाहीका लागि अपिल गर्दछ ।

जय नेपाल १
विश्वप्रकाश शर्मा
प्रवक्ता एवं प्रमुख
सूचना, सञ्चार तथा प्रचार विभाग

Loading
TOP