विपन्न नागरिकको भान्सामा चुल्हो बाल्दै क्याप्टेन रमेश श्रेष्ठ

विपन्न नागरिकको भान्सामा चुल्हो बाल्दै क्याप्टेन रमेश श्रेष्ठ

रोजी ढकाल पराजुली ।

काठमाडौं । कोरोना महामारीका कारण विश्वव्यापी लकडाउनको प्रभाव नेपालमा पनि छ । एक महिनाभन्दा लामो लकडाउनका कारण विपन्न र ज्यालादारी मजदुरी गरेर जीवन गुजारा गर्दै आएका नागरिकहरु समस्यामा परेका छन् । यस्तो बेलामा उनीहरुलाई सहयोग गर्न सरकारी निकाय र विभिन्न संघसंस्थाले सक्रियता पनि देखाएका छन् ।


यति एअरलाइन्समा पाइलटको रुपमा कार्यरत बानेश्वर भीमसेनगोलाका क्याप्टेन रमेश श्रेष्ठले पनि कोरोना लकडाउनकै अवधिमा आफ्नै पहलमा एक हजार २ सयभन्दा बढी विपन्नलाई सहयोग गरेका छन् । न्यूनतम आवश्यकता पूरा गर्न पनि समस्यामा रहेकाहरुलाई सहयोग गर्न रमेशले व्यक्तिगत रुपमा १ लाख ६८ हजार रुपैयाबाट थालेका थिए । सोही रकमबाट खाद्यान्न लगायतका अत्यावश्यक सामाग्रीहरुको प्याकेज बनाएर रमेशले विपन्न परिवारलाई सहयोग गर्दै आएका छन् । आफूले देखेका र सम्पर्कमा आएजतिका कमजोरी आर्थिक अवस्था भएका नागरिकलाई उनीहरुको बासस्थानमै पुगेर रमेशले सेवा गर्दै आएका छन् । प्रारम्भमा सेवाभावले उनले थालेको अभियानमा अहिले उनका साथीहरु पनि जोडिएका छन् । कतिपयले विदेशबाट सहयोग पठाउनु थालेका छन् ।
संकटको बेलामा रमेशले गरेको मनकारी सहयोग देखेर धेरैले उनलाई स्याब्बासी दिन्छन् । उनी स्वयं पनि अरुको समस्या समाधानका लागि सानो भएपनि सहयोग गर्न पाएकोमा खुसी छन् । लकडाउनका कारण अलपत्र परेका र घर जान नसकेका कतिपयलाई उनले आफ्नै खर्चमा यातायातको जोहो गरेर पनि गाउँ पठाएका छन् ।
“संकटको बेलामा एकले अर्कालाई सहयोग गर्नुपर्छ । मैले मेरो व्यक्तिगत क्षमताले भ्याएसम्म सहयोग गरेको छु । सबैले सहयोगको भाव राख्ने हो भने कोहीपनि व्यक्ति समस्यामा पर्दैन”, उनले भने । लकडाउन लम्बिदै जाँदा समस्यामा पर्ने व्यक्तिहरुको संख्या पनि बढ्दै जाने भन्दै रमेशले यस्ता विपदबाट पाठ सिकेर भोलीका दिनमा विपन्नलाई सहयोग गर्न बलियो संयन्त्र बनाउनुपर्नेमा जोड दिए ।

Loading
TOP