बहराइनमा एकै दिन ७७ नेपालीमा कोरोना पुष्टि, संक्रमितको संख्या १ सय २६ पुग्यो

बहराइनमा एकै दिन ७७ नेपालीमा कोरोना पुष्टि, संक्रमितको संख्या १ सय २६ पुग्यो

१७ वैशाख, काठमाडौं । बहराइनमा थप ७७ जना नेपालीमा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण देखिएको छ । योसँगै बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या १ सय २६ पुगेको मान्मास्थित नेपाली दूतावासले जनाएको छ ।

बहराइनस्थित नेपाली दूतावासका अनुसार ४ कम्पनीमा कार्यरत गरी ७७ नेपालीमा एकै दिन कोरोना संक्रमण पुष्टि भएको हो। एउटा सुपरमार्केट र ३ विभिन्न कम्पनीमा कार्यरत नेपालीलाई कोरोना भाइरसको संक्रमण देखिएको बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले जानकारी दिए। यसअघि बहराइनमा ४९ नेपाली श्रमिकमा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

दूतावासका अनुसार बहराइनमा झण्डै ३० हजार नेपाली श्रमिक कार्यरत छन्। बहराईनमा हिजो सम्ममा १५ सय ५६ जनामा कोरोना संक्रमण भेटिएको र ८ जनाको मृत्यु भएको र २ जना गम्भीर रहेको जनाएको छ।

अहिलेसम्म बहराइनमा १२६, यूएईमा १२, साउदीमा ४, कुवेतमा २९, कतारमा १५, मलेसियामा ३ जना गरी जम्मा १८९ जना नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण भएको हो । जसमध्ये साउदीमा तीन, यूएईमा दुई र मलेसियामा दुई गरी ७ जना निको भएर काममा फर्किएका छन् ।

Loading
TOP