विश्वभर कोरोना भाइरसबाट २ लाख १७ हजार मृत्यु

विश्वभर कोरोना भाइरसबाट २ लाख १७ हजार मृत्यु

१७ वैशाख,  काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या ३१ लाख नाघेको छ भने, मृतको संख्या २ लाख १७ हजार भन्दाबढी पुगेको छ ।

बुधबार बिहानसम्मको तथ्यांक अनुसार कोरोना संक्रमितको संख्या ३१ लाख ३६ हजार २ सय ३२ पुगेको छ।हिजो एकै दिन कोरोनाका ७६ हजार २ सय ८६ जना नयाँ संक्रमित थपिएका छन्। अहिलेसम्म यसको संक्रमणबाट २ लाख १७ हजार ७ सय ९९ जनाले ज्यान गुमाएका वल्र्डओमिटरले जनाएको छ।

मंगलबार मात्रै कोरोना संक्रमणबाट ६३ सय ५१ जनाले ज्यान गुमाएका छन्। सङ्क्रमितमध्ये ९ लाख ५२ हजारभन्दा बढी निको भएका छन् । १९ लाख ६४ हजारभन्दा बढीको उपचार भइरहेको छ । उपचार गराइरहेकामध्ये ५७ हजार तीन सय सात जना अर्थात ३ प्रतिशतको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको वल्डोमिटरले जनाएको छ ।

ज्यान गुमाउने र सङ्क्रमित हुनेको सङ्ख्या सबैभन्दा बढी संयुक्त राज्य अमेरिकामा छ । केही दिनयता दैनिक ज्यान गुमाउनेको सङ्ख्यामा कमी आएको अमेरिकामा गएको २४ घण्टामा भने झण्डै दोब्बरले बढेको छ । त्यहाँ थप २४ सय २८ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या ५९ हजार नाघेको छ । यस्तै १० लाख २५ हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ । मङ्गलबार अमेरिकामा १३ सय ८४ जनाको ज्यान गएको छ ।

इटलीमा भने ज्यान गुमाउनेको सङ्ख्या मङ्गलबारको भन्दा केही बढेको छ । मङ्गलबार तीन सय ३३ जनाको ज्यान गएको इटलीमा गएको २४ घण्टामा थप तीन सय ८२ जनाको ज्यान गएको छ । त्यहाँ सङ्क्रमितको सङ्ख्या पनि बढेर दुई लाख एक हजार नाघेको छ ।

स्पेन र फ्रान्समा भने दैनिक ज्यान गुमाउनेको सङ्ख्या घटेको छ । यी दुई देशमा कोरोना सङ्क्रमणका कारण अहिलेसम्म साढे २३ हजारभन्दा बढीको ज्यान गएको छ । स्पेनमा दुई लाख ३२ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि हुँदा फ्रान्समा एक लाख ६५ हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै भारतमा ३१ हजार तीन सय ६० जनामा कोरोना पुष्टि भएकोमा एक हजार आठ जनाको ज्यान गएको छ । त्यहाँ गएको २४ घण्टामा ६९ जनाको ज्यान गएको वल्डोमिटरले जनाएको छ । सात हजार सात सय ४७ जना भने निको भएका छन् ।

Loading
TOP