पार्टीगत स्वार्थ र राजनीतिभन्दा माथि उठ्न सरकारलाई महामन्त्री कोइरालाको आग्रह

पार्टीगत स्वार्थ र राजनीतिभन्दा माथि उठ्न सरकारलाई महामन्त्री  कोइरालाको आग्रह

१८ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कोरोना भाइरसका कारण मुलुक संकटमा परेका बेला एकताबद्ध भएर समस्या समाधानमा लाग्नुपर्ने बताएका छन् । उनले बिहीबार सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गरेर संकटका बेला सरकारलाई पार्टीगत स्वार्थ र राजनीतिभन्दा माथि उठेर जनताको स्वास्थ्य र समस्या समाधानतर्फ लाग्न आग्रह गरेका छन् ।

“संकटका बेला हामी सबैले पार्टीगत स्वार्थ र राजनीतिभन्दा माथि उठेर एकताबद्ध ढंगले जनताको स्वास्थ्य र समस्या समाधान गर्न लाग्नुपर्छ भनेर सरकारलाई अपिल गर्न चाहन्छु,” महामन्त्री डा. कोइरालाले भिडियो सन्देशमा भनेका छन् ।

उनले संकटमा परेका बेला मुलुकमा विभाजनको रेखा कोर्नु जनताप्रतिको धोकाधडी भएको भन्दै सचेत पनि गराएका छन् । “संकटका बेलामा लाखौंलाख जनताको ज्यान जोखिममा भएका बेलामा कुनै पनि विभाजनको रेखा कोर्नु मुर्खतामात्र होइन कि देश र जनता प्रतिको धोकाधडी हुने छ,” कोइरालाको भिडियो सन्देशमा भनिएको छ । बाह्रखरीबाट साभार

Loading
TOP