आन्ध्रप्रदेशमा रासायनिक प्लान्टबाट ग्यास लिक, तीनजनाको मृत्यु

आन्ध्रप्रदेशमा रासायनिक प्लान्टबाट ग्यास लिक, तीनजनाको मृत्यु

२५ वैशाख,  विशाखापटनम। भारत आन्ध्रप्रदेशको विशाखापटनमस्थित एक रासायनिक प्लान्टबाट ग्यास लिक हुँदा तीनजनाको मृत्यु भएको छ। घटनाका कारण आसपासका बस्तीमा भागदौड मच्चिएको छ।

ग्यास लिक भएपछि सो क्षेत्रको अवस्था त्रासपूर्ण रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रहरीले रसायन प्लान्ट आसपासका पाँच गाउँका मानिसलाई सुरक्षित स्थानमा लगेको छ । ती गाउँका बासिन्दालाई मेघाद्री गेड्डासहितका स्थानमा लगिएको हो ।

ग्यासका कारण स्थानीय बासिन्दाले आँखा पोल्ने तथा स्वासप्रस्वासमा भोगिरहेका छन् । विशेष गरी बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । एलजी पोलिमर्स इन्डिया प्रालिको केमिकल प्लान्टबाट ग्यास चुहावट भएको हो ।

सन् १९६१ मा निर्माण भएको सो प्लान्ट हिन्दुस्तान पोलिमर्सको थियो, जसलाई सन् १९९७ मा दक्षिण कोरियाली कम्पनी एलजीले अधिग्रहण गरेको हो । ग्यास चुहावट हुँदा दुई सयजना भन्दा बढी बिरामी परेका छन् ।

प्लान्टबाट स्टाइरिन ग्यास लिक भएको हो । ग्यास लिक हुँदा स्थानीय बासिन्दा सुतिरहेका थिए । लकडाउनपछि काम सुरु भएको प्लान्टबाट ग्यास लिक भएको हो । अहिले सो क्षेत्रमा उद्धार तथा मर्मतको काम भइरहेको जनाइएको छ ।

Loading
TOP