शिक्षण अस्पतालको स्त्री रोग विभागमा कार्यरत चिकित्सक, नर्ससहित करिब १५० को पिसिआर परीक्षण हुँदै

शिक्षण अस्पतालको स्त्री रोग विभागमा कार्यरत चिकित्सक, नर्ससहित करिब १५० को पिसिआर परीक्षण हुँदै

४ जेठ,  काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा लगातार ३ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएपछि उनीहरुको सम्पर्कका आएका व्यक्तिको समेत पिसिआर परीक्षण सुरु गरिएको छ।

अस्पतालमा नै सुत्केरी भएकी सिन्धुपाल्चोककी २९ वर्षीयाको मृत्यु भएपछि प्रसूति तथा स्त्रीरोग विभाग सहित अन्य विभागमा कार्यरत डाक्टर, नर्स, स्वास्थ्यकर्मी, कर्मचारी र अन्य बिरामीको स्वाब संकलनको काम अगाडि बढाइएको छ।

अस्पतालका अनुसार आज आइतबार र भोली सोमबारसम्म करिब १५० जनाको स्वाब संकलन गर्ने गरी काम अगाडि बढेको छ। यसअघि अस्पतालमा जेठ २ गतेसम्म १८६ जनाको स्वाबको नमूना संकलन गरिएको छ।

आइतबार २ बजेसम्म २० जनाको स्वाबको नमूना संकलन भइसकेको र अरुको लिने काम भइरहेको बताइएको छ।

शिक्षण अस्पतालमा वैशाख २३ गते सुत्केरी हुनका लागि स्त्री रोग विभागमा भर्ना भएकी सिन्धुपाल्चोक राम्चेकी २९ वर्षिया महिलाको मृत्यु भएपछि स्त्री विभागमा कार्यरत रहेका सबैको नमुना परीक्षण गरिने छ भने उनीहरुको नमुना संकलन गर्ने कार्य भइरहेको छ।

अस्पतालमा जेठ १ गते कपिलबस्तुबाट उपचारका लागि आएकी ७ वर्षिया बालिकामा कोरोना पोजेटिभ देखिएको थियो भने जेठ २ गते अर्का उपचारका लागि पुगेका दाङका एक व्यक्तिमा कोरोना पोजेटिभ देखिएको थियो।

शिक्षण अस्पतालमा कोरोना संक्रमण देखिएपछि त्यहाँ कार्यरत कर्मचारीमा त्रास छाएको छ। अस्पतालका एक कर्मचारीले भन्छन्,‘सबैमा डर छाएको छ। सबैले हाम्रो परीक्षण गर्देउ भनेर भनेका छन्। स्त्री विभागका भने सबैको गर्ने कुरा भएको छ।’

शिक्षण अस्पतालमा कोरोना संक्रमण देखिएपछि २० जना अस्पताल क्वारेन्टाइनमा र २३ जना कर्मचारी सेल्फ क्वारेन्टाइनमा बसेको अस्पतालले जनाएको छ।

सेल्फ क्वारेन्टाइनमा बसेका कर्मचारीको पनि स्वाब परीक्षण गरिएर धेरैको रिर्पोट नेगेटिभ आएको छ भने केहीको रिर्पोट आउन बाँकि रहेको बताइएको छ।

अस्पताल उपचारका लागि आएका बिरामीलगायत ८ जनालाई कीर्तिपुर क्वारेन्टाइनमा पठाइएको छ।

Loading
TOP