मन्त्रिपरिषद् बैठक बस्दै, संविधान संशोधनको प्रस्ताव ल्याउने तयारी

मन्त्रिपरिषद् बैठक बस्दै, संविधान संशोधनको प्रस्ताव ल्याउने तयारी

९ जेठ, काठमाडौं । मन्त्रिपरिषद्को बैठक शुक्रबार आज बस्दैछ। 

आजको बैठकले संविधान संशोधनको प्रस्ताव ल्याउने छ। सरकारले जारी गरेको नयाँ नक्सा कार्यान्वयनका लागि संविधान संशोधन गर्नुपर्ने हुन्छ। सरकारले बुधबार लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटेर नेपालको नयाँ नक्सा जारी गरेको छ। उक्त नक्सा कार्यान्वयनका लागि संविधानमा रहेको निशान छापभित्र रहेको नेपाली नक्सा पनि परिवर्तन गर्नुपर्ने भएकाले आजको बैठकले उक्त प्रस्ताव संसदमा प्रस्तुत गर्ने निर्णय गर्ने बालुवाटार स्रोतले जानकारी दिएको छ।

संविधानको अनुसूची(३ मा रहेको सोही निशान छापभित्रको नेपालको नक्सा परिवर्तन गर्न सरकारले प्रतिनिधि सभामा संविधान संशोधनको प्रस्ताव लैजान लागेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि संसदमा बोल्दै सरकारले संविधान संशोधनको प्रस्ताव ल्याउन लागेको जानकारी दिएका थिए।

पछिल्लो समय नेपाली भूमि कालापानी क्षेत्रमा भारतले सडक बनाएर उद्घाटन गरेपछि नेपालले पनि उक्त क्षेत्र आफ्नो भूमिमा समेट्दै नयाँ नक्सा जारी गरेको छ।

यस्तै, आजकै बैठकमा भारतलगायत तेस्रो मुलुकमा अलपत्र परेका नेपालीलाई स्वदेश फिर्ता ल्याउने विषयमा पनि छलफल हुनेछ। आजको बैठकले लकडाउनको मोडालिटीका सम्बन्धमा पनि छलफल गर्ने बताइएको छ।

Loading
TOP