रेलको सपना होइन, ‘ब्याक टु ओर्क’को बजेट ल्याउनहोस्

रेलको सपना होइन, ‘ब्याक टु ओर्क’को बजेट ल्याउनहोस्

१४ जेठ, काठमाडौं । अर्थमन्त्री युवराज खतिवडालाई आगमी बर्षको बजेटमा पानी जहाज, चिनियाँ रेलजस्ता काल्पनिक योजनालाई प्राथमिकतामा नराख्न बिज्ञहरुले सुझाव दिएका छन् । कोरोनाले अर्थतन्त्र तहसनहस भइरहेका बेला ‘ब्याक टु ओर्क’लाई पहिलो प्राथमिकता दिन आग्रह गरेका हुन् ।

‘कोरोना संक्रमणले करोडौ मानिसलाई घरभित्र थुनेको छ, उनीहरुलाई सुरक्षित काममा फर्काउने बजेटको पहिलो उदेश्य हुनुपर्दछ’, पूर्वअर्थमन्त्री एवं नेकपा प्रभावशाली नेता सुरेन्द्र पाण्डेले भने ‘ब्याक टु ओर्क, राष्टिय गौरवका पुराना योजना, दक्ष जनशक्तिको पहिचना र सदुपयोगमा बजेट केन्द्रीत गर्न मैले सुझाव दिएको छु, राष्टिय गौरवका भन्ने तर पुरा नै गर्न नसकिने योजनामा अहिले हात हाल्नु हुँदैन यो अल्पकालिन सरकार होइन ।’

नेकपा स्थायी कमिटीका सदस्य समेत रहेका पाण्डेले २० बर्ष पहिलेदेखि शुरु भएका मेलम्ची खानेपानी, पोखरा र भैरहवा विमानस्थल, माथिल्लो तामाकोशी जलविधुत, रानी जमरा र सिक्टा सिचाई योजनाहरु यसैबर्ष पुरा गर्नेगरी बजेट ल्याउन सु्झाव दिएका छन् । ‘यी योजनामा बजेट केन्द्रीत भए यसै बर्ष सम्पन्न हुन्छन् र देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्छ’, पूर्वअर्थमन्त्री पाण्डेले भने ‘केरुड, रसुवागढी काठमाडौ, काठमाडौ पोखरा, पूर्वपश्चिम रेल मार्ग जस्ता काल्पनिक योजनामा अहिले बजेट बिनियोजित गर्नुहुँदैन, तर यी योजनालाई सूचिकृत भने गर्नुपर्दछ ।’

केरुड, काठमाडौं रेल मार्गका लागि ४ खर्ब बजेट लाग्ने प्रारम्भीक अनुमान गरिएको छ । बैदेशिक सहायताको भरमा ल्याउने नेपालको बजेट करिव १५ खर्वको हुन्छ । ४ खर्ब एउटै योजनामा खर्च गर्न सकिने अबस्था पनि छैन । दुई चार अर्ब मात्र छुट्याइयो भने योजना सम्पन्न हुन करिव एक सय बर्ष लाग्छ । यस्ता योजनामा अहिले हात नहाल्न पूर्वअर्थमन्त्री पाण्डेले सरकारलाई सुझाव दिएका छन् ।

कोरोनापछि लाखौ नेपालीहरु विदेशबाट फर्केका छन् । उनीहरुलाई बोझका रुपमा नभई शक्तिका रुपमा प्रयोग गर्न पाण्डेले सरकारलाई आग्रह गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री खतिवडालाई बाहिरबाट फर्केका जनशक्तिको पहिचान गर्न सुझाव दिएका छन् । ‘विदेशबाट फर्केका जनशक्तिलाई देशमै परिचालन गर्ने एउटा सुनौलो मौका पनि आएको छ’, पाण्डेले भने ‘दक्ष र गैरदक्ष कामदार पहिचान गरौ, दक्ष कामदारलाई शीपअनुसारको काम दिने गरी बजेट निर्माण गरौ । गैरदक्ष कामदारका लागि तालिमको ब्यवस्था गरौ ।’

नेपालमा साना र ठुला कलकारखाना तथा मेसिनहरुमा काम गर्ने दक्ष जनशक्ति छैन, भएको जनशक्ति पनि बाहिरिएको थियो । कोरोनापछि त्यो जनशक्ति देशमा फर्केको छ । सामान्य सडक खन्ने स्काभेटर बिग्रेमा बनाउने कालिगर भारतबाट बोलाउनु पर्ने बाध्यता छ । यो बाध्यतालाई हटाउन र देशलाई आत्मनिर्भरको बाटोमा लिन जनशक्तिको पहिचान र पचिालन पहिलो सर्त भएको पाण्डेले बताए ।
गत आर्थिक बर्षको बजेटमा ८ प्रतिशत बद्धि लक्ष्य राखिएको थियो । कोरोना नफैलिएको भएपनि ५ प्रतिशतभन्दा माथी जाने छाँट थिएन । हालसम्म २८ प्रतिशत मात्र विकास बजेट खर्च भएको छ ।

Loading
TOP