रुकुमपश्चिम घटनाको छानबिन गरी दोषीमाथि कारवाही होस् : जनार्दन शर्मा

रुकुमपश्चिम घटनाको छानबिन गरी दोषीमाथि कारवाही होस् : जनार्दन शर्मा

१५ जेठ, काठमाडौँ । नेकपा नेता तथा पूर्वगृहमन्त्री जनार्दन शर्माले रुकुमपश्चिमको चौरजहारीमा भएको घटनाको सत्य तथ्य छानबिन गरी दोषीमाथि कडा कारवाही गर्न माग गरेका छन् ।
रुकुम ९पश्चिम० निर्वाचित प्रतिनधिसभा सदस्य शर्माले एक प्रेस विज्ञप्ति जारी गर्दै चौरजहारीमा भएको घटना मानव सभ्यताको खिल्ली उडाउने र मानव सभ्यताको सामु उत्पन्न चुनौतीका रुपमा लिएको भन्दै छानबिनको माग गरेका हुन् ।

उनले भनेका छन्, “उक्त घटनाको घोर भत्र्सना गर्दै अपराधीले कुनै पनि हालतमा उन्मुक्ति पाउनु हुन्न भन्ने मेरो स्पष्ट धारणा छ । अपराधी नछुटुन् र निर्दोष नपरुन् भन्नका लागि घटनाको सत्यतथ्य अनुसन्धान मुख्य कुरा हो ।” सांसद शर्माले घटनाको छानबिनका लागि सरकारसँग उच्चस्तरीय संसदीय छानबिन समिति बनाउनमा माग गर्दै भनेका छन्, “घटनाको छानबिनमा सहयोग गर्न म प्रतिबद्ध छु ।”

संविधानमा दलित अधिकार उल्लेख भए पनि वैचारिक, राजनीतिक, सांस्कृतिक र व्यवहारिकरूपमा समाजलाई रुपान्तरण गर्न अझै सफल नभएको यस घटनाले देखाएको उल्लेख गर्दै उनले भनेका छन्, “यस्ता घटना फेरि पनि नघटुन् भन्नका लागि सामन्ती चिन्तन प्रवृत्तिविरुद्ध बृहत सांस्कृतिक रुपान्तरणको सङ्घर्ष आवश्यक छ । यसको नेतृत्व राज्य स्वयंले गर्न साहस गर्नुपर्छ ।”

उक्त घटनाका विषयमा सङ्घीय संसद्मा सम्पूर्ण विवरण राख्दै गर्दा केही सांसदहरुले होहल्ला गरी भनाइ राख्न अवरोध गरेको उल्लेख गर्दै सांसद शर्माले आफूले घटनाको सत्यतथ्य सार्वजनिक होस् भनी छानबिनको माग गरेको तथ्यलाई बङ्ग्याउने प्रयत्न भएको बताएका छन् । उनले जनयुद्ध, संविधान निर्माण र संविधान कार्यान्वयनमा आफूले राखेका खुला विचार र सङ्घर्ष सबैसामु छर्लङ्ग रहेको भन्दै भ्रममा नपर्न आग्रह समेत गरेका छन् ।

“मैले संसद्मा त्यहाँको सम्पूर्ण विवरणसहित सभामुखसँग समयमागी बोल्न लाग्दा केही सांसदहरुले होहल्ला गरी मलाई बोल्न नदिने काम भयो । मैले मेरा सम्पूर्ण भनाइ राख्नबाट बञ्चित भएँ”, शर्माद्वारा जारी विज्ञप्तिमा भनिभएको छ, “मैले बोलेको स्पष्ट भनाइ हुँदाहुँदै तोडमोड गरी राजनीतिकरण गर्ने प्रयास भएको छ । सबैमा आग्रह गर्न चाहन्छु कि घटनाको सत्यतथ्य सार्वजनिक होस् भनी छानबिनको माग गरेको तथ्यलाई बङ्ग्याउने काम नहोस् ।”

आफ्नो राजनीतिक जीवनको सबैभन्दा ठूलो उद्देश्य नै उत्पीडित वर्गका पक्षमा खडा हुने भएको स्पष्ट पार्दै उनले अपराधीलाई कारवाहीका साथै राज्य पूर्ण उत्तरदायी भएर जानुपर्नेमा जोड दिएका छन् ।

Loading
TOP