तरकारी बारीमै चल्यो ट्र्याक्टर

तरकारी बारीमै चल्यो ट्र्याक्टर

१६ जेठ,चितवन । लामो समयसम्म लकडाउन जारी रहँदा पूर्वी चितवनका किसानले लगाएको तरकारीसहित बारी जोताउन थालेका छन् । किसानले उत्पादन गरेको तरकारीले बजार नपाएपछि तरकारीसहित नै जोत्न शुरु गरेका हुन् ।
खैरहनी नगरपालिका वडा नं १ बहेराका किसान वाससुदेव सापकोटाले तरकारी बिक्री नभएपछि खेतमा ट्र्याक्टर लगाएर जोताउन बाध्य भएको बताउनुभयो । यसपटक लकडाउनले गर्दा बजार मूल्य नपाएपछि सापकोटाले भिन्डीबारी जोताएका हुन् । उनले सात कठ्ठा जग्गामा भिन्डी लगाएका थिए । वैशाख महिनामा उनले रु १२ हजारको मात्र भिन्डी बिक्री गरेको बताए ।

त्यसयता उनको भिन्डीले बजार पाएको छैन । लकडाउन लम्बिँदा प्रायः धेरै किसान मारमा परेका छन् । सापकोटाले आफ्नो परिश्रमबाहेक सात कठ्ठामा रु ६५ हजार खर्च गरेर भिन्डी लगाएको जानकारी दिए । उनले भने, “शुरुमा केही बिक्री भयो, अहिले सित्तैमा लैजानसमेत मान्दैनन् ।” बोटमा छिप्याएर राख्नुभन्दा जोतेर अर्को बालीको तयारी गर्न उपयुक्त ठानेर तरकारीसहित बारी जोतेको उनको भनाइ छ । बाह्र वर्षअघि प्रतिकिलो रु दुईमा झरेपछि उनले त्यो बेला पनि तरकारीसहितको बारीमा ट्र्याक्टर लगाएका थिए ।

अर्का किसान कृष्णप्रसाद सापकोटाले २३ कठ्ठामा तरकारी खेती गर्दै आएका छन् । त्यसमध्ये छ कठ्ठामा भिन्डी खेती गरेका छन् । अन्य तरकारीले बजार पाए पनि भिन्डीले भने मूल्य नपाउँदा उनी निरास छन् । भिन्डीसँगै जोडिएको जग्गामा मकैखेती गरेकाले एकैपटक जोत्ने तयारीमा उनी छन् । विदेशबाट फर्केर स्वदेशमै तरकारी खेती शुरु गर्नुभएका कृष्ण यसैबाट छोराछोरी पढाउने, घर खर्च चलाउने गर्थे ।

तरकारी खेती गर्ने किसानलाई उनीहरुले उत्पादन गरेको वस्तुको समर्थन मूल्य सरकारले तोक्नुपर्ने उनको भनाइ छ । उनीहरुले स्थानीय ग्रामीण ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्थामार्फत तरकारी बिक्री गर्दै आएका छन् ।

सहकारीका अध्यक्ष पूर्णदत्त जैसी क्षेत्रीले लकडाउनका कारण तरकारी सङ्कलनको काम बन्द भएको बताए । यहाँ उत्पादन भएको तरकारीको मुख्य बजार नारायणगढ, काठमाडौँ र पोखरा हो । अन्य जिल्ला लैजान अहिले समस्या छ सहकारीका अध्यक्ष जैसीले भने, “बिचौलिया हाबी हँुदा तरकारीले उचित मूल्य पाउन नसकेको हो ।”

सो क्षेत्रमा अहिले ३०० किसानले व्यावसायिकरूपमा तरकारी खेती गर्दै आएका छन् । सहकारीका अध्यक्ष जैसीका अनुसार खैरहनी वडा नं १ बाट मात्रै वार्षिक रु नौ करोडको तरकारी उत्पादन हुँदै आएको छ । यहाँ भिन्डी, बोडी, बन्दा, काउली, गोलभेँडालगायत तरकारी खेती हुँदै आएको छ । गत वर्ष पनि यस क्षेत्रका किसानले उत्पादन गरेको तराकारीले बजार नपाएपछि खेतमै जोताएका थिए ।

Loading
TOP