डडेल्धुरा र बाजुरामा भारतबाट फर्किएका दुई बालकको मृत्यु, कोरोना परिक्षण हुदै

डडेल्धुरा र बाजुरामा भारतबाट फर्किएका दुई बालकको मृत्यु, कोरोना परिक्षण हुदै

१८ जेठ, डडेल्धुरा । डडेल्धुराको क्वारेन्टाइनमा र बाजुराको आइसोलेसनमा रहेका एक एक बालकको मृत्यु भएको छ ।

डडेल्धुरामा भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका अन्दाजी ७ वर्षीय बालकको मृत्यु भएको छ ।

डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा राखिएका जिल्लाको नवदुर्गा गाउँपालिका वडा नम्बर ३ का अन्दाजी ७ वर्षीय बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बालकको स्वास्थ्यमा समस्या आएको खबर पाउने बितिकै उपचारका लागि डडेल्धुरा अस्पताल लगिएपनि बाटोमै उनको मृत्यु भएको प्रहरी ले बताएको छ ।

परिवारले बालकलाई मलेरिया रोग लागेको बताएको छ । अहिले बालकको शव डडेल्धुरा अस्पतालमा राखिएको छ भने उनको कोरोना परीक्षण गर्ने तयारी छ ।

बाजुरामा आईसोलेसनमा भर्ना गरिएका बालकको मृत्यु

बाजुरामा आईसोलेसनमा भर्ना गरिएका बालकको मृत्यु भएको छ। जिल्ला अस्पताल बाजुराको आईसोलेसनमा राखिएका बुढिगंगा नगरपालिका १ का दुई वर्षीय बालकको आईतवार बिहान मृत्यु भएको हो ।

अस्पतालले बालकको मृत्यु भएको पुष्टि गर्दै बालकको थ्रोट स्वाबको नमूना संकलन गरी परीक्षणका लागि धनगढी पठाएको र रिपोर्ट अझै नआएको बताएको छ ।

रिर्पोट आएपछि मात्र उनको शव व्यवस्थापन गरिने भएको छ । आठ दिन अघि भारतबाट फर्किएका उनलाई बुढिगंगा नगरपालिका १ धुरालसैनमा माविको आइसोलेसनमा राखिएको थियो ।

बालकको अवस्था जटिल भएपछि जेठ १५ गते सदरमुकाममा रहेको आइसोलेसनमा भर्ना गरिएको थियो । बालकमा झाडापखला, ज्वरो, श्वासप्रश्वास सम्बन्धीत समस्या देखिएको बताइएको छ ।

आईसोलेसनमा आमाबुबासँगै बालकलाई पनि राखिएको थियो ।

Loading
TOP