किटको अभावमा परीक्षणबिना नै भित्रिए एक हजार नेपाली मजदुर

किटको अभावमा परीक्षणबिना नै भित्रिए एक हजार नेपाली मजदुर

१८ जेठ, बैतडी । नेपाल–भारत सीमा झुलाघाटबाट तीन दिनमा एक हजार ४८ जना स्वदेश भित्रिएका छन् । लगातार शनिबार तेस्रो दिन पनि नेपाली मजदुरको उद्धार गरिएको हो ।

बिहीबारदेखि शुरु गरिएको उद्धारमा शनिबार १८९ नेपाली स्वदेश भित्रिएको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए । यस्तै तीन भारतीय पनि भारत गएका उनले बताए ।

यसअघि शुक्रबार २८३ मजदुरलाई स्वदेश भित्र्याइएको थियो भने नौ भारतीय नागरिकलाई भारत पठाइएको थियो । बिहीबार पनि उक्त नाकाबाट ५७६ मजदुरलाई स्वदेश भित्र्याइएको थियो । स्वदेश भित्र्याइएका नागरिकहरू सुदूरपश्चिम र कर्णाली प्रदेशका छन् ।

स्वदेश फर्केका नागरिकलाई सम्बन्धित जिल्लामा पठाइएको र बैतडीको हकमा सम्बन्धित स्थानीय तहमा पठाइएको छ । उनीहरुलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा राखिने र त्यसपछि मात्रै कोरोना परीक्षण गरिने सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए । झुलाघाट नाकाबाट स्वदेश भित्र्याउँदा सामान्य ज्वरो जाँच मात्रै गरी भित्र्याइएको छ । भारतका विभिन्न शहरबाट नेपाल प्रवेश गरेका उनीहरुलाई परीक्षणबिनै भित्र्याउँदा सङ्क्रमणको जोखिम बढेको छ ।

Loading
TOP