कैलालीका ५ संक्रमितलाई सेती अस्पतालले भर्ना गरेन, मन्दिरको हलमा राखियो

कैलालीका ५ संक्रमितलाई सेती अस्पतालले भर्ना गरेन, मन्दिरको हलमा राखियो

२१ जेठ, कैलाली । कैलालीको गौरिगंगा नगरपालिकाका ५ जना कोरोना संक्रमितलाई सेती प्रादेशिक अस्पतालले भर्ना नगरी फिर्ता गरिदिएको छ । २४ शैयाको आईसोलेसन वार्ड बिरामीले भरिभराउ भएको र थप संक्रमितलाई राख्ने ठाउँ नभएको भन्दै सेती प्रादेशिक अस्पतालले पाँच जना कोरोना संक्रमितलाई फिर्ता पठाएको हो।

जिल्लाको गौरीगंगा नगरपालिकाको कालिका माविको क्वारेन्टिनमा रहेका १९, २०, २४, २८ र ३२ बर्षीय पुरुषलाई अस्पतालले भर्ना नगरी फिर्ता पठाएको नगरपालिकाका मेयर भीम देउवाले बताए। अस्पतालले भर्ना नगरेपछि संक्रमितहरुलाई मन्दिरको हलमा राखिएको छ । ‘अस्पतालले फिर्ता गरेपछि हामीले उहाँहरुलाई मन्दिरको हलमा व्यवस्थापन गरेका छौँ,’ नगर प्रमुख देउवाले भने, ‘अब के गर्ने भन्ने विषयमा छलफल हुँदै छ ।’

मंगलबार नै गौरीगंगा नगरपालिकाको कालिका माविको क्वारेन्टिनमा रहेका उनिहरुलाई कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुमध्ये २ जनालाई स्वास्थ्यमा समस्या देखिएको र अन्य ३ जना सामान्य रहेको मेयर देउवाले बताए ।
स्थानीय तहले नै आइसोलेसन वार्ड बनाएर उनीहरुलाई राख्ने तयारीमा जुटेको देउवाले बताए ।

यता सेती प्रादेशिक अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेयले २४ शैयाको आईसोलेसनमा २५ जना संक्रमितलाई राखिएको बताउँदै थप संक्रमितको तत्काल व्यवस्थापन गर्न नसकिएको बताए । स्वास्थ्य कार्यालय कैलालीले हस्तान्तरण गरेको आईसोलेसन भवनमा उपकरण थप्ने काम जारी भएकाले उक्त भवनमा विरामी राख्न नसकिएको समेतले मेसु पाण्डेयले बताए।

Loading
TOP