वडाध्यक्षलाई गाउँलेले नै क्वारेन्टाइनमा राखेपछि…

वडाध्यक्षलाई गाउँलेले नै क्वारेन्टाइनमा राखेपछि…

२२ जेठ, खोटाङ। हलेसी तुवाचुङ नगरपालिका(१० अर्खौलेका स्थानीयबासिन्दाले वडाध्यक्ष ज्ञानबहादुर पुरीलाई क्वारेन्टाइनमा राखेका छन्।

“दैनिक मादक पदार्थ सेवन गरेर उहाँले मातेको झोँकमा गएराति क्वारेन्टाइनमा बसेकालाई हप्काउनुका साथै एक युवकको मोबाइलसमेत खोसेर लानुभएको छ”, एक स्थानीय बासिन्दाले भने, “क्वारेन्टाइनमा बसेकाहरूसँगको सम्पर्कमा जानुभएका वडाध्यक्ष पुरीबाट कोरोना भाइरसको संक्रमण सर्ने खतरा भएकाले उहाँलाई नै क्वारेन्टाइनमा राखिएको हो।”

पुरीले गएराति क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मी र कर्मचारीलाई समेत हप्कीदप्की गरेको प्रत्यक्षदर्शीले बताएका छन्।

उनलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिने नगरप्रमुख इवन राईले बताए। “हामीले लागू गरेको नियम सबैलाई लागू हुन्छ”, राईले भने, “वडाध्यक्ष पुरीले नियम उल्लंघन गर्नुभएकाले उहाँलाई नगरपालिकाकै तर्फबाट १४ दिनसम्म क्वारेन्टाइनमा राखिएको हो।” रासस

Loading
TOP