विदेशमा समस्यामा परेका नेपालीको उद्धार शुक्रबारदेखि सुरु हुने

विदेशमा समस्यामा परेका नेपालीको उद्धार शुक्रबारदेखि सुरु हुने

२२ जेठ,काठमाडौं । कोभिड(१९ महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीको उद्धार शुक्रबारदेखि सुरु हुने भएको छ । पहिलो पटक बर्माबाट २६ जना नेपाली लिएर म्यानमारकै सैनिक जहाज शुक्रबार काठमाडौं आउने भएको छ।

स्रोतका अनुसार बर्मामा कार्यरत नेपालीहरू पछिल्लो समय काम नभएर अलपत्र परेपछि नेपाल सरकारको अनुरोधमा बर्माले आफ्नै खर्चमा नेपाल ल्याइदिन लागेको हो । फर्किने बेला सो विमानले काठमाडौंमा रहेका बर्मेली नागरिक लिएर जानेछ ।

यसैबीच शुक्रबार नै संयुक्त अरब इमिरेट्सबाट चार्टर्ड विमानमा २१० जना नेपाली लिएर काठमाडौं आउने तयारी भइरहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
सरकारले विभिन्न देशमा समस्यामा परेका श्रमिक, विद्यार्थी र अन्य नागरिक फर्काउने क्रममा नेपालकै विमान चार्टर्ड गर्ने तथा सम्बन्धित देशका विमान कम्पनीबाट ल्याउने दुवै प्रक्रिया पूरा गरी उडान अनुमति दिने निर्णय गरिसकेको छ ।

सरकारले ढिलोमा १० जुनबाट विभिन्न देशमा रहेका नेपालीलाई स्वदेश फर्काउने तयारी गरिरहेका बेला बर्माबाट भने शुक्रबारै ल्याउन लागिएको हो । बर्माबाट आउने सबै २६ जना नागरिक वागमती प्रदेशका रहेकाले उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट महिला बालबालिकामन्त्री पार्वत गुरुङले संयोजन गर्नेछन् ।

सरकारले विभिन्न देशबाट फर्काइने नागरिकलाई प्रदेशगत रुपमा सातजना मन्त्रीको समन्वयमा सम्बन्धित जिल्ला र स्थानीय तहमा पुर्‍याउने कार्यविधि बनाएको छ । सोही बमोजिम शुक्रबार आउने वागमती प्रदेशका २६ जना नागरिकलाई सम्बन्धित ठाउँमा पुर्‍याउने जिम्मा गुरुङले पाएका हुन् ।

Loading
TOP