सरकारविरुद्ध देशव्यापी प्रदर्शन

सरकारविरुद्ध देशव्यापी प्रदर्शन

३० जेठ, काठमाडौँ । सरकारको कोरोनाविरुद्धको काम कारवाहीप्रति असन्तुष्टि व्यक्त गर्दै देशका विभिन्न शहरमा प्रदर्शन शुरु भएका छन् ।

शुक्रबार काठमाडौँ लगायत, बुटवल, धनगढी, बीरगंज, भक्तपुर, भैरहवालगायतका प्रमुख शहरहरुमा प्रदर्शन भएका छन् ।

काठमाडौँ उपत्यकामा पनि शुक्रबार किर्तिपुर, चन्द्रागिरी, भक्तपुर लगायतका ठाउमा प्रदर्शन भएका छन् ।

यसअघि मंगलबार र विहिबार काठमाडौँमा प्रदर्शनमा उत्रिएका युवाहरुमाथि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको थियो ।

काठमाडौंको बालुवाटार र नक्साल क्षेत्रमा प्रदर्शनमा उत्रिएका युवाहरुमाथि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको थियो ।

स्वस्फुर्त रुपमा युवाहरुले पीसीआर परीक्षणको दायरा बढाउन मागलाई प्रमुख रुपमा अगाडी सारेका छन्  । उनीहरुले भारतबाट आएकाहरु लागि राम्रो क्वारेन्टाइनको व्यवस्था नगर्दा कोरोना फैलिएको, कोरोना नियन्त्रणमा खर्च गरिएको पैसाको विवरण सार्वजनिक नगरिएको, सरकारले आमा जनताका प्रश्नको जावाफ सहि किसिमले नदिएको, महामारीसँग लड्न सरकारले सही र पर्याप्त प्रयास नगरेको आरोप लगाएका छन् ।

कोभिड-१९ नेपाल इनफ इज इनफ भन्ने फेसबुक पेजमार्फत शुरु भएको प्रदर्शनले देशव्यापी रुप लिईसकेको छ । देशका विभिन्न ठाउमा शनिबार व्यापक प्रदर्शनको तयारी भएको छ ।

शनिबार नै प्रतिनिधि सभामा नयाँ नक्शा पारित गर्ने कार्यतालिका रहेकाले प्रदर्शन जारी राख्दा गलत अर्थ लाग्न सक्नेतर्फ अहिले सामाजिक संजालमा सचेत पनि गराइएको छ ।

विहिबारको प्रदर्शनलाई भारतीय मिडियाहरुले गलत ब्याख्या गर्दै नक्शाविरुद्धको प्रदर्शन भनेर प्रचार गरेपछि यस बारेमा सामाजिक संजाल प्रयोगकर्ताहरुले आयोजकहरुलाई सचेत बनिरहेका छन् ।

कस्ता कस्ता नारा :

प्रदर्शनमा लगाइएका नारा र विषय अहिले सामाजिक संजालमा राम्रो स्थान पाएका छन् । कोरोनाविरुद्धको सरकारको तयारी र अहिलेको कामका विषयमा व्यंग्य गरिएका यस्ता नाराहरु रोचक र क्रियटिभ ढंगले बनाइएका छन् ।  बाचुन्जेल हाहाकार, मरेपछि पिसिआर, जनता भोकै मर्दैछ, सरकार खैके गर्दैछ, के भन्लिन हाम्री आमाले, कुट्यो रे भन्दा मामाले, आरडिटीमा हुदैछ भ्रस्ट्राचार, पिसिआरमाथि गर विचार, असुरक्षित क्वारेन्टाइन, कोरोनाको स्वर्ग हो जस्ता नारासहितका प्लेकार्ड लिएर युवाहरु स्वस्फुर्त रुपमा प्रदर्शनमा उत्रिएका छन् ।

यसक्रममा सबै भन्दा जोडदार रुपमा प्रदर्शनमा उत्रिएका युवाहरुले सरकारले अहिलेसम्म कोरोनाविरुद्धको लडाईमा खर्च गरेको १० अर्बको हिसाब मागेका छन् ।

Loading
TOP